कालीकोटमा पाहुना गएका १७ वर्षीय किशोरबाट ७ वर्षीया बालिका बलात्कृत

पालिका डायरी
३ बैशाख २०८३, ०९:५६
१६ वर्षीया किशोरी बलात्कृत

कालीकोटमा १७ वर्षीय एक किशोरबाट ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् । मंगलबार दिउँसो नरहरीनाथ गाउँपालिका–३ मा उक्त घटना घटेको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार घरमा कोही नभएको मौका छोपेर ती किशोरले बालिकामाथि जबर्जस्ती करणी गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश ज्ञवालीले घरमा कोही नभएको मौका छोपेर पाहुना गएका ती किशोरले बालिकालाई बलात्कार गरेको जानकारी दिए ।

प्रहरीका अनुसार पीडक र पीडित दुवै दलित समुदायका हुन् । बालिका आफ्ना हजुरबुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । उनका बुबा, आमा रोजगारीका लागि भारतमा छन् । घरका अन्य सदस्यहरू बारीमा काम गर्न गएको समयमा बालिकालाई मोबाइलमा कार्टुन हेर्न दिएर फकाएको प्रहरीको भनाइ छ ।

बालिकाका आफन्तहरू खेतबारीमा काम गरेर फर्किपछि घटनाबारे थाहा भएको थियो । आफन्तले प्रहरीमा जाहेरी दिएपछि बुधबार बिहान ती किशोरलाई प्रकाउ गरिएको जनाएको छ ।  बलात्कृत बालिकाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया