मकवानपुरमा यसरी हुँदै छ निर्वाचनको तयारी (तस्बिरहरु)

पालिका डायरी
२० फाल्गुन २०८२, १४:०४

हेटौंडा । बिहीबार (भोलि) हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा तीव्र तयारी भैरहेको छ । जिल्लाभरका मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यतिबेला मतदान केन्द्रहरूमा बुथ मिलाउने, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने काम भैरहेको छ । मकवानपुरको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल समेत तयार भइसकेको छ। हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवि माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयार गरिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।

जिल्लामा १६७ मतदान स्थल कायम गरिएका छन्। तीमध्ये १९ मतदान स्थल अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकृत गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरिएको प्रशासनले जनाएको छ ।
मकवानपुरमा दुई अस्थायी सहित कुल ३ सय ७६ मतदान केन्द्र स्थापना गरिएका छन् । मतदान कार्य सञ्चालनका लागि ३ हजार ३ सय ६६ कर्मचारी खटिएका छन् ।

५ सयसम्म मतदाता भएका केन्द्रमा ८ जना, ५ सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना तथा अस्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी परिचालन गरिएको छ । जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र मकवानपुर–१ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्रमार्फत १ लाख ५८ हजार ४३४ मतदाताले मतदान गर्नेछन् ।
त्यस्तै मकवानपुर–२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत १ लाख ५६ हजार ८९९ मतदाता सहभागी हुनेछन्। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वयात्मक सुरक्षा योजना लागू गरिएको छ ।

प्रतिक्रिया