५२ प्रकारका निर्वाचन सामग्री बोकेर मतदान केन्द्रतिर लागे कर्मचारी (तस्बिरहरू)
प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरण पुगेको छ। निर्वाचन सामग्री बोकेर कर्मचारी मतदान केन्द्रतिर लागेका छन्।
मकवानपुरमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर कर्मचारी मतदान केन्द्रतिर गइरहेका छन्। मकवानपुरका निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार मतदान समग्री आज साँझसम्म सबै मतदान केन्द्रमा पुग्नेछ।
समय लाग्ने स्थानीय तहमा आइतबारदेखि नै सामग्री पुगिसकेको उनले जानकारी दिए। मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीलाई अभिमुखीकरण गरी नियुक्तिपत्र वितरण गरेसँगै आइतबारदेखि निर्वाचन सामग्री बुझाउन थालिएको निर्वाचन अधिकृत आचार्यले बताए।
निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्री मतदान अधिकृतलाई उपलब्ध गराइएको छ। १० वटै स्थानीय तहका मतदानस्थलमा खटिएका आजै दिउँसोसम्म सामान बुझाइनेछ भने खटिएका कर्मचारीले आजैबाट मतदानस्थल पुगेर निर्वाचनको पूर्वतयारीमा जुट्नेछन्।

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १९ वटा मतदान केन्द्रलाई अति संवेदनशिल केन्द्रको रुपमा लिइएको छ। त्यस्ता मतदान केन्द्रमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले बताए।
मकवानपुरका दुई अस्थायी गरी ३७६ मतदान केन्द्रमा निर्वाचन गराउन ३ हजार ३६६ कर्मचारी खटिएका छन्। ५ सयसम्म मतदाता भएको मतदान केन्द्रमा आठ जना, ५ सयभन्दा बढी मतदाता भएको केन्द्रमा नौ जना र अस्थायी मतदान केन्द्रमा पाँच जना कर्मचारी खटाइएको छ।






