बस्ती उठाउने योजना रास्वपाले ल्याएकै हो ?: अध्यक्ष सुवेदी
नेकपा एमाले मनहरी गाउँपालिका कमिटी अध्यक्ष नवीन सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एजेन्डा शासन सुधार हो कि बस्ती उठाउने अभियान हो भन्ने प्रश्न उठाएका छन्।
नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले भने, “मैले यस क्षेत्रका घन्टीका उम्मेदवार र रास्वपाका नेता बालेन्द्र साहबीच भएको कुराकानी सुनेँ। त्यहाँ जंगल क्षेत्रका घरहरू अन्यत्र सार्नुपर्ने कुरा चलिरहेको पाएँ।”
यदि जंगलकै नाममा घर उठाउने हो भने मनहरी गाउँपालिकाको साविक हाँडीखोला मात्र होइन, रमन्टार, बिजौना, नयाँबस्ती, प्याङ्चे जस्ता बस्तीहरू पनि सबै जंगलमै पर्छन्। “अब के यी सबै बस्ती उठाउने योजना रास्वपाले बोकेको हो?” उनले प्रश्न गरे।
अध्यक्ष सुवेदीले व्यङ्ग्य गर्दै भने, “हाम्रो पार्टी नेकपा एमाले त यिनै बस्तीका नागरिकलाई लालपुर्जा दिलाउन संसदमा कानून बनाउने तयारीमा छौँ र बनाउँछौँ पनि। तर रास्वपा भने वन बचाउने नाममा मान्छे नै हटाउने तयारी गरिरहेको छ।”
यदि यी बस्तीहरूलाई ‘जंगल क्षेत्र’ को ट्याग लगाएर अन्यत्र सार्ने प्रस्ताव आएको हो भने चेतावनी दिँदै उनले भने, “गाउँबस्तीबाट आन्दोलनको आँधीबेहरी उठाउनु बाहेक अर्को विकल्प रहने छैन।”
एमाले बस्ती एकीकृत गर्ने विषयमा सहमत भए पनि जंगलको नाममा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गर्ने कुनै पनि योजनालाई स्वीकार गर्न नसकिने अध्यक्ष सुवेदीको भनाइ छ।
पार्टीको विस्तारित बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बर्तौला, बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेती, संविधानसभा सदस्य राजाराम स्याङ्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए।



