मकवानपुरगढी–३ विकासको नमुना बन्दै: कृषि, पूर्वाधार, शिक्षा र रोजगारीमा उल्लेखनीय फड्को

पालिका डायरी
९ माघ २०८२, १२:०६
मकवानपुरगढी–३ विकासको नमुना बन्दै: कृषि, पूर्वाधार, शिक्षा र रोजगारीमा उल्लेखनीय फड्को

हेटौंडा /  मकवानपुरगढी गाउँपालिका अन्तर्गतका वडामध्ये वडा नं. ३ पछिल्लो समय समग्र विकासका दृष्टिले नमुना बन्दै गएको छ। बाटो, पुल, खानेपानी, सिँचाइ, शिक्षा, कृषि तथा रोजगारी सिर्जनाका क्षेत्रमा गरिएको योजनाबद्ध पहलले वडाको समग्र जीवनस्तर उकासिएको देखिन्छ।

शैक्षिक क्षेत्रतर्फ प्राविधिक शिक्षा सञ्चालन गर्ने योजनासहित आवश्यक भौतिक संरचनाहरूको विकास हुँदै आएको छ। साथै मठ–मन्दिर, गुम्बा, पाटी–पौवा जस्ता धार्मिक तथा सांस्कृतिक संरचनाहरूको निर्माण र संरक्षणमा समेत वडा सक्रिय देखिन्छ।

कृषि क्षेत्रमा रैथाने बाली मकै, धान, गहुँ र कोदो उत्पादनलाई प्राथमिकतामा राखिँदै आएको छ। यसका साथै व्यवसायिक गाईपालन, कुखुरापालन, बाख्रापालन तथा फलफूल खेती (केरा, अदुवा, लिची लगायत अन्य नगदे बाली) लाई स्थानीय सरकारको सहयोगमा प्रवर्द्धन गरिएको छ। विशेषगरी दूध बिक्रीलाई प्राथमिकतामा राख्दै वडा आत्मनिर्भर बन्दै गएको पाइन्छ।

संभावित प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न खोला–खोल्सीमा बाँध निर्माण तथा पहिरो नियन्त्रणका लागि रिटेनिङ वाल निर्माण गरिएको छ। भौगोलिक दृष्टिकोणबाट पनि वडा नं. ३ विकासका लागि अनुकूल रहेको स्थानीयको भनाइ छ।

जनचेतना अभिवृद्धि तथा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरिएको छ। कम्प्युटर, ब्युटिसियन, डोजर अपरेटर, कृषि ज्ञान तथा साना उद्योग सञ्चालनसम्बन्धी तालिममार्फत युवाहरूलाई रोजगारीतर्फ उन्मुख गराइएको छ।

खेलकुद क्षेत्रतर्फ पनि फुटबल, क्रिकेट, भलिबल लगायतका खेलमा युवाहरूको सक्रिय सहभागिता बढ्दै गएको छ।

यी सबै विकास कार्यहरूको सुरुवात पूर्व गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको नेतृत्वमा भएको हो भने हाल दोस्रो पटक निर्वाचित वडा अध्यक्ष भागवत घिमिरेले ती योजनाहरूलाई निरन्तरता दिँदै सफलतापूर्वक अघि बढाइ रहेका छन्।

प्रतिक्रिया