बाख्रालाई माला लगाएर मनाइयो पाँचौँ बाख्रा दिवस
हेटौंडा / हरेक वर्षको माघ ४ गते मनाइने बाख्रा दिवस यो वर्ष पनि बाख्रापालक किसानहरुले भव्यताका साथ मनाइएको छ । पाँचौ बाख्रा दिवसको अवसरमा नेपाल व्यवसायिक बाख्रापालक महासंघको आयोजनामा भएको कार्यक्रममा किसानले पालेका बाख्रालाई प्रदेशका कृषि मन्त्रीले माला लगाएर बाख्रा दिवसको उद्घाटन गरेका थिए ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका कृषि मन्त्री र कृषि मन्त्रालयका सचिव प्रमुख अतिथिका रूपमा सहभागी भए । कार्यक्रममा मन्त्री र सचिवले बाख्रालाई सयपत्री फूलको माला लगाइदिँदै दाना खुवाए । बाख्रा दिवस मनाइरहँदाको उक्त दृश्यले कार्यक्रममा सहभागीहरूलाई विशेष रूपमा आकर्षित ग¥यो र सबैले रमाइलो मानेर अवलोकन गरे ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीको आफ्नै बाख्रा फार्ममा आयोजना गरिएको उक्त कार्यक्रम विगत पाँच वर्षदेखि राष्ट्रिय स्तरमै मनाइँदै आएको बाख्रा दिवसको निरन्तरता हो । बाख्रापालनलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्दै किसानको हौसला बढाउने उद्देश्यका साथ बाख्रा दिवस मनाइँदै आएकोमा यो वर्ष देशकै ठुलो बाख्रा फार्ममा दिवस मनाइएको हो ।
व्यवसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मानिर्भर हाम्रो अभियान भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा नेपालमा बाख्रापालन व्यवसायको सम्भावना र चुनौती विषयक विचार गोष्ठिको आयोजना गरिएको थियो ।

यसरी दिवस मनाइएको मकवानपुरको हेटौँडा उपहमानगरपालिका–३ मा रहेको यो सिमलथली एग्रो प्राली देशकै ठुलो, आधुनिक र नमुना बाख्रा फार्मको रुपमा परिचय बनाउँदै आएको छ । निजी लगानीमा १ हजार भन्दा बढी बाख्रा र उन्नत जातका खसीबोका पालन गरिँदै आएको यो फार्म पछिल्लो समय कृषि अवलोकन केन्द्रको रुपमा समेत विकास हुँदै गएको छ ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघका अध्यक्ष समेत रहेका गोविन्द सुवेदीले सुरु गरेको यो फार्ममा हाल देशभरका आधा दर्जन बढी लगानीकर्ता भित्रिएका छन् । बोयर, सान्नानी जस्ता उन्नत जातका बाख्रा पालन गरिँदै आएको फार्मले जिल्लाका किसानहरुलाई बाख्रा पाल्न दिने गरेको भने उनीहरुले पालेका बाख्राहरु बजार भाउभन्दा उच्च मुल्य दिएर आफैले किनिदिने समेत गरेको छ ।

ठुलो क्षेत्रफलमा व्यवस्थित खोर बनाएर गरिएको बाख्रापालन हेर्न देशका विभिन्न जिल्लाबाट मकवानपुर आइपुग्ने गरेका छन् । १० करोड निजी लगानीमा सञ्चालन गरिएको यस फार्ममा अहिले १ हजार भन्दा बढी बाख्राहरु छन् । निजी लगानीमा फार्म सञ्चालन भए पनि यस फार्मले सामाजिक सेवामा समेत अग्रसरता देखाउँदै आएको छ । जिल्लाको १७ स्थानमा ४५ वटा समूह बनाएर किसानहरुलाई तालिम दिने, बिउ बोका दिने तथा उनीहरुले उत्पादन गरेका बाख्राहरु बजारभाउ भन्दा महंगो मुल्यमा किन्ने गरेका छन् ।

यता, कार्यक्रमका अथिति प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले पशुपालन व्यवसायका लागि मन्त्रालयले ४ वटा स्तम्भ बनाएर काम गर्दै आएको बताए । पशुपालक किसानहरुलाई यही व्यववसायमै टिकाउनका लागि विभिन्न कामहरु गरेर सहयोग गर्दै आइएको मन्त्री पौडेलले बताए ।
यसरी पाँचौँ राष्ट्रिय बाख्रा दिवसले बाख्रापालनलाई परम्परागत पेशाको रूपमा सीमित नराखी आधुनिक प्रविधि, लगानी र बजारसँग जोडिएको व्यवसायिक उद्यमको रूपमा विकास गर्न सकिने सन्देश दिएको कार्यक्रममा उपस्थित अतिथिहरुले बताए ।
कृषि मन्त्री पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव वैकुण्ठ अधिकारी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एकराज उप्रेती, मकवानपुर उद्योग वाणिज्य महासंघकी महासचिव प्रतिमा श्रेष्ठ, स्थानीय जनप्रतिनिधि लगाएत देशभरका व्यवसायिक बाख्रापालक किसानहरुको उपस्थिती रहेको थियो ।




