संस्थागत निर्णय उल्लङ्घन गर्नेहरू समीक्षा प्रक्रियाबाट भाग्न सक्दैनन् : उपाध्यक्ष लामा

पालिका डायरी
१२ पुष २०८२, १८:३४

हेटौंडा /  नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामाले पार्टीका संस्थागत निर्णयभन्दा दायाँ–बायाँ हिँड्ने प्रवृत्तिविरुद्ध कडा चेतावनी दिएका छन्।

नेकपा एमालेको ११औँ महाधिवेशनबाट हालै निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाइ तथा शुभकामना दिन नेकपा एमाले मकवानपुरले आयोजना गरेको कार्यक्रममा, भीमफेदी गाउँपालिकाका अध्यक्षसमेत रहेका उपाध्यक्ष लामाले यस्तो चेतावनी दिएका हुन्।

उनले पार्टी अनुशासन, निर्णय कार्यान्वयन र राजनीतिक जिम्मेवारीबाट कोही पनि माथि नरहेको स्पष्ट पार्दै गुटगत स्वार्थ, व्यक्तिगत महत्त्वाकांक्षा र जनचाहनाविपरीतका गतिविधिले एमालेको भविष्य कमजोर बनाउने बताए। अहिलेको कमिटीले जनताको अपेक्षाअनुसार काम गर्न नसके एमालेको अस्तित्व नै संकटमा पर्ने उनको भनाइ थियो।

उपाध्यक्ष लामाले कमजोरी भए आफ्नो पनि आत्मसमीक्षा गर्न अनुरोध गर्दै वैचारिक स्पष्टताविना पार्टी बलियो बन्न नसक्ने दाबी गरे।

लामाले विगतको निर्वाचन परिणामतर्फ संकेत गर्दै सीमित स्रोत, आन्तरिक कमजोरी र प्रतिकूल परिस्थितिका बाबजुद नेकपा एमाले एक्लै अन्य सबै दलसँग चुनावी मैदानमा उत्रिँदा पनि मकवानपुरबाट एक प्रतिनिधिसभा, एक प्रदेशसभा र दुई स्थानीय तह जित्न सफल भएको स्मरण गराए। अहिले पनि कुनै गुट, व्यक्ति वा स्वार्थ नहेरी ‘नेकपा एमाले’को झण्डामुनि एकताबद्ध भएर चुनावमा उत्रिए एमालेसँग प्रतिस्पर्धा गर्ने हैसियत कसैको नभएको ठोकुवा गरे।

कार्यक्रममा हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित महेश बर्तौला, एक्कला श्रेष्ठ, भारती पाठक तथा लेखा आयोग सदस्य नवीन सिग्देललाई औपचारिक रूपमा बधाइ तथा शुभकामना प्रदान गरिएको थियो।

नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले आयोजना गरेको उक्त बधाइ तथा शुभकामना कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी तथा कार्यसमिति सदस्य, प्रदेश कमिटीका सदस्य तथा पालिका कमिटीका पदाधिकारी र कार्यसमिति सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नव-निर्वाचित केन्द्रीय सदस्यहरूले पार्टीलाई गुटमुक्त, अनुशासित र जनमुखी बनाउँदै आगामी राजनीतिक सङ्घर्षमा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया