हेटौँडामा सडक विस्तारपछि उपमहानगरपालिकाको निर्णय : पीडितलाई सहुलियत ऋण र कर छुट
हेटौँडा बजार क्षेत्रमा तीव्र गतिमा भइरहेको सडक विस्तारपछि उत्पन्न अवस्थाबारे छलफल गर्न हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आइतबार बसेको छ।
बैठकले प्रभावित नागरिक, व्यवसायी र घरधनीहरूको समस्या समाधानका लागि ९ बुँदे निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। बैठकले सडक विस्तारलाई सहयोग पु¥याएका घरधनी, व्यवसायी तथा नागरिकप्रति धन्यवाद व्यक्त गर्दै प्रभावितहरूका समस्या समाधान तथा राहतका लागि विभिन्न कदम अघि बढाउने निर्णय गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।
उनका अनुसार सडक विस्तारमा प्रभावित घरधनीहरुको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका उपमहानगरपालिकाले समन्वय गर्ने निर्णय गरेको छ। घर निर्माणका लागि आवश्यक खर्च सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ।
यस्तै, सडक विस्तारका क्रममा प्रभावित भई व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिई व्यवसाय सुरु नहुँदासम्म व्यवसाय करमा छुट दिने निर्णय भएको प्रवक्ता न्यौपानेले बताए। हेटौंडा बजार क्षेत्रको सडक विस्तारका क्रममा घरजग्गा गुमाएका नागरिकका लागि उपमहानगरपालिकाले आवास व्यवस्थापनको प्रक्रिया अघि बढाउने भएको छ। सडक विस्तारका कारण जग्गा बाँकी नरहने र अन्यत्र बसोबासका लागि घरजग्गा नभएका घरधनीको विवरण वडा कार्यालयमार्फत संकलन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरका अनुसार संकलित विवरणलाई मालपोत कार्यालयमार्फत जाँचपछी वास्तविक घरवारविहीन हुने व्यक्तिको सूची तयार गरेर त्यस्ता प्रभावितका लागि आवास व्यवस्थापनमा उपमहानगरपालिकाले समन्वय गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन उपमहानगरपालिकाले सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्ने जनाएको छ।
यता, सडक विस्तारका कारण प्रभावित हुने व्यवसायीको व्यवसायलाई निरन्तरता सुनिश्चित गर्न उपमहानगरपालिकाले पहल थाल्ने बताएको छ। सडक विस्तारका क्रममा व्यापारिक गतिविधि प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै मकवानपुर उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवालासँग छलफल र समन्वय गर्ने निर्णय गरिएको उपमहानगरले जनाएको छ। हेटौंडा बजार क्षेत्रमा भइरहेको सडक विस्तारका कारण प्रभावित घरधनीलाई भवन पुनर्निर्माणमा सहजता प्रदान गर्न उपमहानगरपालिकाले विशेष सहजीकरणको व्यवस्था गर्ने समेत कार्यपालिका बैठकबाट निर्णय भएको उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेले बताए।
उनका अनुसार प्रभावित व्यक्तिहरूलाई भवन निर्माणका लागि छोटो प्रक्रिया मार्फत प्राविधिक सहयोगसहित नक्सापास लगायतका सेवा उपलब्ध गराइनेछ। आवश्यक परामर्श, प्राविधिक निरीक्षण र कागजी प्रक्रिया पनि छिटो सम्पन्न गरिने उपमहानगरले जनाएको छ। त्यसैगरी, प्रभावितको आर्थिक बोझ घटाउने उद्देश्यले २ हजार २० वर्गफिटसम्मको नक्सापास दस्तुरमा छुट दिने प्रस्ताव नगर सभामा पेस गरिने बताइएको छ भने घर पुनर्निर्माणमा आवश्यक सामग्री-सिमेन्ट, डण्डी, गिटी-बालुवा आदि-सुलभ मूल्यमा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग उपमहानगरपालिकाले सहजीकरण गर्ने निर्णय गरिएको छ।
बैठकले हेटौंडा हुँदै जाने ऐतिहासिक त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गका रूपमा सञ्चालन गर्न संघीय सरकारलाई नगर सभामार्फत औपचारिक अनुरोध गर्ने निर्णय गरेको छ। राजमार्गको इतिहास, प्राकृतिक दृश्य, भौगोलिक विविधता र हेटौंडाको पहिचानसँग जोडिएको कारण यसलाई पर्यटकीय मार्गका रूपमा प्रवद्र्धन गर्न सकिने उपमहानगरको निष्कर्ष छ।
त्यस्तै, सडक विस्तारका क्रममा सबैभन्दा बढी परिवर्तन आउने बजार क्षेत्रका संरचनामा शहरको पहिचान झल्किने नमूना घर निर्माण मोडल लागू गरिने उपमहानगरले जनाएको छ। प्रभावित क्षेत्रका घर तथा व्यवसाय पुनर्निर्माण गर्दा सौन्दर्य, समानता र आधुनिकता कायम गर्न उपयुक्त डिजाइन तयार गरी कार्यान्वयनमा सहजीकरण गरिने हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय छ।



