हेटौंडा / हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गको सडक सीमा संरक्षण तथा विस्तार अभियान हाललाई स्थगित गरिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।
सडक सीमाभित्र पर्ने संरचना हटाउने बारे गोरखापत्र राष्ट्रिय दैनिकमा मंसिर ५ गते प्रकाशित सूचना कार्यान्वयनको क्रममा केही सरोकारवालाले सर्वोच्च अदालतमा रिट दायर गरेपछि काम रोक्नु परेको हो।
सडक डिभिजन हेटौंडाका अनुसार सर्वोच्च अदालतले मंसिर १९ गते जारी गरेको उत्प्रेषण आदेश मंसिर २१ गते दिउँसो १२:४६ बजे सडक डिभिजनमा म्याद तामेल भएसँगै सूचनामा उल्लेख गरिएका कार्यहरू हाललाई स्थगित गरिएको छ।
राजमार्गको दायाँ–बायाँ २५/२५ गजभित्र पर्ने संरचना हटाएर सडक विस्तारको तयारी भइरहेका बेला डिभिजनले घरधनी, व्यवसायी, स्थानीय बासिन्दा, सञ्चारकर्मी र सरोकारवालाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ।
डिभिजनका प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सडक सीमा संरक्षण एवं राजमार्ग विस्तारप्रति सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दछौं। सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै सूचनामा उल्लेख कार्यहरू हाललाई रोकिएको छ।”
सडक सीमा संरक्षण तथा विस्तार विषयमा सर्वोच्च अदालतमा परेको रिटको विवाद समाधान नहुँदासम्म हेटौंडा बजारभित्रको राजमार्ग विस्तार प्रक्रिया रोकिएको छ।



