जनतामाथि डोजर आतंक मच्चाउने व्यक्तिको पार्टीमा बस्न सकिनँः विद्या श्रेष्ठ
उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । हेटौँडा बजार विस्तार कार्यमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले साथ नदिएको भन्दै श्रेष्ठले केन्द्रीय सदस्यबाट राजीनामा दिएकी हुन् । मन्त्री घिसिङकै अगुवाइमा उज्यालो पार्टी बनको हो ।
जनताको निजी निवास भत्काएर मानव अधिकार कुण्ठित गरिरहेको श्रेष्ठको भनाइ छ । सरकारले हटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई संरचना भत्काएपछि आक्रोशित भएकी उनले सामाजिक सञ्जालबाटै राजीनामाको घोषणा गरेकी हुन् । उनै श्रेष्ठसँग गरेको कुराकानी :
उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेको केही दिनमै राजीनामा दिनपर्ने गरी के आइपर्यो ?
म लामो समयदेखि सडक विस्तारपीडितको पक्षमा लड्दै आएको मान्छे हुँ । पार्टीमा बसेर सडक विस्तारको विपक्षमा बोल्न मलाई नैतिकताले दिएन । नैतिकताकै आधारमा मैले राजीनामा दिएको हुँ । जनतामाथि डोजर आतंक मच्चाउने व्यक्तिको पार्टीमा केन्द्रीय सदस्य बनेर म बस्न सकिनँ ।
हेटौँडामा डोजर चलिरहेकै छ । लामो समयदेखि राज्य आतंकविरुद्ध आवाज उठाउँदै आएको मैले आफ्ना नेताकै मुख हेरेर चुप बस्न सकिनँ । मनव अधिकार सुनिश्चितासहितको सुशासन हो । मानव बस्तीमै डोजर चलाउन निर्देशन दिने सरकारको पार्टीमा बस्नुको औचित्य छैन भनेर बाहिरिएको घोषणा गरेकी हुँ ।
सामाजिक सञ्जालबाटै राजीनामाको घोषणा गरिरहँदा पार्टीका नेता कुलमान घिसिङसँगै तपाईंको विवाद भएको भन्ने चर्चा छ । साच्चै, कुलमानसँग विवाद भएको हो ?
मैले उहाँलाई यो सडक विस्तार रोक्नका लागि पटक-पटक अनुरोध गरेको थिएँ । यसमा सहजीकरण गरिदिनोस् भनेको थिएँ । सरकारमै रहनुभएका उहाँलाई हामीले अनुरोध गरिरहँदा पनि हाम्रो मागलाई वास्ता गर्नुभएन। जुन दलमा रहेको मैले मेरै नेतालाई आग्रह गर्दा त नमान्ने भएपछि मेरो सिद्धान्त र उहाँको सिद्धान्त नमिलेको महसूस गरेँ । त्यसैले नैतिकताकै आधारमा राजीनामा दिने घोषणा गरेकी हुँ । अरु केही विवाद भएको छैन । मन नमिलेपछि जो कोहीले पनि बाटो त अवश्य बदल्छ ।
राजीनामाको घोषणा गर्नुपूर्व कुलमान घिसिङसँग संवाद गर्नुभएन ?
धेरै चरणमा संवाद, छलफल गरेका थियौं । उहाँसँग मात्रै नभएर मकवानपुरका सीडीओेसँग पनि कुरा गरेका थियौं । तर सीडीओसाबले ‘हामी कसैको पनि कुरा मान्दैनौं, हेटौँडामा डोजर चल्छ, माथिबाटै आदेश आएको छ’ भन्नुभयो ।आदेश दिने कोही नभएर मेरै नेता हुन् भन्ने थाहा भइहाल्यो । त्यसपछि आग्रह गरिहरन मन लागेन ।
तपाईं त काठमाडौँको स्थानीय बासिन्दा हो, तर पनि हेटौँडा बजार जोगाउन किन पार्टी नै छोड्नुभयो ?
हो, म काठमाडौँकै बासिन्दा हो । यहाँ पनि म सडक विस्तारको पीडित होइन । हेटौँडामा पनि मेरा आफन्त कोही हुनुुहुन्न । तर, जुनवेला बाबुराम भट्टराई नेतृत्वको सरकारले बालाजु बाइपासको सडक भत्काएको थियो । त्यतिवेला त्यहाँका पीडित आमाबुवाहरू रुँदै हामीसँगै आन्दोलनमा होमिनु भएको थियो । कति वृद्धवृद्धा आमाबुवाको आन्दोलनमा हिड्दाहिड्दै बिरामी भएर बित्नुभएको पनि थियो ।
त्यही वेलामा वीरगन्ज सडक विस्तारको चर्चा पनि थियो । यसरी सडक फराकिलो बनाउने नाममा नागरिकलाई घरवारविहीन हुन दिन हुन्न भनेर हामीले अभियान नै चलाएका थियौं । त्यो समयदेखि नै म जहाँ सडक विस्तार हुन्छ, त्यहाँको नागरिकको पक्षमा उभिने गरेकी छु । म हेटौँडाको नागरिक त होइन, तर हेटौँडाका नागरिकको पीडाले म यतिवेला पनि रोइरहेकी छु ।
हेटौँडामा बिहानैबाट डोजर चलेको छ । काठमाडौँबाटै विरोध गरिरहनु भएको छ । हेटौँडा आउन हुन्न ?
म हिजो दिउँसो नै हेटौँडा जाने मनस्थितीमा थिएँ । तर, हिजो दिउँसो ३ बजे सर्वोच्च अदालतले सडक विस्तारमा ‘स्टे अर्डर’ जारी गर्यो । सर्वोच्चको आदेश मानेर म हेटौँडा आइनँ। सर्वोच्चमाथि मैले विश्वास गरेँ। मेरा पार्टीका शीर्ष नेतामाथि मैले विश्वास गरेँ । तर, रातारात हेटौँडाको माहोल बेग्लै भइसकेको रहेछ ।
आज बिहानको झिसमिसेमै डोजर चलेको भिडिओहरू सामाजिक सञ्जालमा देखेँ। सडक विस्तारको विरुद्धमा स्टाटस लेखेकै आधारमा प्रहरीले मलाई फोन गरेर ‘हेटौँडा आउँदै हुनुुहुन्छ रे, आउनुभयो भने पक्राउ पर्नुहुन्छ’ भन्नुभयो । अहिले आज माइतीघर मण्डलमै बसेर विरोध जनाए । माइतीघर मण्डलमा समेत बस्न दिएन । प्रहरीको ‘थ्रेड’कै कारण हेटौँडामा आउन सकिनँ । तर, हेटौँडाका पीडित नागरिकसँग निरन्तर छलफलमै छु ।
उज्यालो पार्टीबाट त अलग हुनुभयो । अब तपाईंको आगामी राजनीतिक यात्रा के हुन्छ ?
म अहिले राजनीतिमा लाग्ने मोडमा छैन। धेरैले मलाई राजनीति गर्न आउँदैन भन्ने पनि गर्छन् । तर म नागरिकलाई आँशुमा डुबाएर स्वार्थको राजनीतिमा रमाउने मान्छे होइन । म भावनात्मक भएको कारण मानव अधिकारको रक्षा नै मेरा लागि राजनीति हो । अहिले यो बाहेक केही सोचेकी छैन ।



