हेटौंडा / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मकवानपुरका अगुवा कार्यकर्ताहरूसँग शनिबार भेट गरेका छन्। हेटौंडा–४ स्थित भैरव रोडमा रहेको पार्टी कार्यालयमा नेपालले पार्टीका अगुवा कार्यकर्ता भेटेका हुन्।
पार्टी जिल्ला उपाध्यक्ष ध्रुवबहादुर भुजेलको सभाध्यक्षतामा राखिएको भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष नेपालले चुनावको तयारी गर्न निर्देशन दिए। नेपालले राज्य विषम परिस्थितिमा रहेको भन्दै सिंगो नेपाली जनता चनाखो भएर बस्नुपर्ने बताएका छन्।
उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा अन्य शक्तिहरुले घुसपैठ गरी देशका अत्यन्त महत्वपूर्ण संरचनाहरूमा आगजनी, तोडफोड तथा मानिस मार्ने काम गरेको उल्लेख गर्दै यो अत्यन्त निन्दनीय रहेको बताए।
जेन्जी आन्दोलनमा जति कलिला विद्यार्थी र प्रहरीहरूले ज्यान उत्सर्ग गरे, ती सबै शहीदहरूप्रति श्रद्धा व्यक्त गर्दै उनले जेन्जीहरूका जायज माग पूरा हुनुपर्ने धारणा राखे। नेपालले केपी ओलीको घमण्डका कारण देशमा विषम परिस्थिति सिर्जना भएको दाबी गर्दै देशलाई यस्तो अवस्थामा पुर्याइए पनि ओलीको दम्भ नघटेको टिप्पणी गरे।
नेपालले पार्टी एकताको सवालमा मसिनो ढंगले गृहकार्य भइरहेको पनि जानकारी दिए। भेट कार्यक्रममा पार्टी केन्द्रीय उपमहासचिव रामकुमार भट्टराई, स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सल्लाहकार यादव गजुरेल, प्रदेश सदस्य माधव तिमल्सिना, पार्टी जिल्ला सचिव किशोर बर्तौला र युवा नेता किशोर टण्डनलगायतको उपस्थिति थियो।

