हतियारसहित देखिएका टीओबी समूहका ३ युवालाई थप ६ दिन हिरासतमा राख्न अनुमति

पालिका डायरी
२७ आश्विन २०८२, १८:१४
हतियारसहित देखिएका टीओबी समूहका ३ युवालाई थप ६ दिन हिरासतमा राख्न अनुमति

जेनजी आन्दोलनमा हतियारसहित देखिएको आरोपमा पक्राउ परेका टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका तीन युवालाई थप ६ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ।

उनीहरूविरुद्ध अभद्र व्यवहारको आरोपमा प्रशासनबाट म्याद थप गरी प्रहरी अनुसन्धान अघि बढाइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा हतियारसम्बन्धी ठोस प्रमाण नपाएपछि अभद्र व्यवहारकै आधारमा म्याद लिइएको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा उनीहरू हतियारसहित देखिएको भन्दै तस्बिर र भिडियो सार्वजनिक भएपछि तीनै जना आइतबार स्वेच्छाले प्रहरीमा उपस्थित भएका थिए। उनीहरूले प्रयोग गरेको हतियार नक्कली भएको र घटना पुरानो भएको दाबी गरेका छन्।

प्रहरीले पनि घटनाको समयबारे यकिन पुष्टि गर्न सकेको छैन। प्रमाण जुटेमा कानुनअनुसार थप कारबाही अघि बढाइने र हालका लागि अभद्र व्यवहारमा मात्रै हिरासत म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया