हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ मार्गमा रातको समयमा सवारी चलाउन रोक
शुक्रबारदेखिको अविरल वर्षा रोकिएपछि आइतबार बिहानबाट सञ्चालनमा आएको हेटौँडा–काठमाडौं आवागमन पुनः आइतबार साँझदेखि रोकिएको छ। सुरक्षाको कारण देखाउँदै मकवानपुरका विभिन्न मार्ग हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनलाई अस्थायी रूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यससँगै संघीय राजधानी काठमाडौंतर्फ जाँदै गरेका सयौँ सवारीसाधनमध्ये केही हेटौँडामै रोकिएका छन् भने केहीले वैकल्पिक मार्गको प्रयोग गरेका छन्। प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– १, चौकीटोलदेखि माथिल्लो भागतर्फ सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो। यात्रु र सवारीचालकलाई प्रहरीले सम्झाइबुझाई फर्काएको छ।
यसअघि आइतबार बिहान भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ मार्ग हुँदै काठमाडौं आवतजावत खुला गरिएको थियो। तर, इन्द्रसरोवर गाउँपालिका– ४, महालक्ष्मीखोलानजिक निरन्तर पहिरो झरिरहेको र रातिको समयमा सुरक्षाको चुनौती बढेपछि पुनः रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।
‘अहिले पनि महालक्ष्मीखोला आसपासका क्षेत्रमा पहिरो झरिरहेको छ। सडकमाथिबाट ढुंगा–माटो खस्ने क्रम रोकिएको छैन,’ सापकोटाले भने, ‘सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै आइतबार साँझदेखि भोलि बिहानसम्मका लागि यातायात सञ्चालनमा रोक लगाएका हौँ।’ उनका अनुसार सोमबार बिहान सडकको अवस्थालाई मूल्यांकन गरी पुनः आवतजावत खुलाउने विषयमा निर्णय लिइनेछ।
यता त्रिभुवन राजपथका बाघमारा र महाभीर क्षेत्रमा पहिरो खसेका कारण आवागमन अवरुद्ध छ भने केही स्थानमा रुख ढलेका छन्। भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा डोढारेखोलाले राजमार्गकै केही भाग बगाएको छ। दक्षिणकाली मन्दिरनजिक पनि ठुला पहिरो गएकाले सो खण्डमा सवारी सञ्चालन सम्भव नभएको प्रहरीले जनाएको छ।
कान्ति लोकपथमा पनि ठिंगनदेखि बगुवाखोलासम्म तीन ठुला पहिरोले सडकका केही भाग बगाएको छ। हेटौँडादेखि बगुवा खोलासम्म साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरो गएको प्रहरी निरीक्षक सापकोटाले बताए। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार अवरुद्ध सडकहरूमा डोजर परिचालन गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणले जारी गरेको सूचनाअनुसार पछिल्ला दिनको लगातारको वर्षाले पहिरो, बाढी र सडक अवरोधको जोखिम उच्च रहेकाले रातको समयमा उपत्यका प्रवेशमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय र प्रहरीले जनाएको छ। नयाँ पत्रीकाबाट ।

