तुइनखोलाको पहिरो ६० प्रतिशत हटाइयो, आज रातिसम्म आवागमन सुचारु गर्ने लक्ष्य
file photo
मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो ६० प्रतिशत हटाइएको छ। डिभिजन सडक कार्यालय, भरतपुरले बिहीबार दिउँसो सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।
कार्यालयका अनुसार पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरि निरन्तर रुपमा काम भैरहेको छ।यसको अलावा दुवैतर्फ १/१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन् ।
साथै, काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरूका कारण कठिनाइ भएको डिभिजन कार्यालयले जनाएको छ ।
पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरूका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ । कुनै पनि बाधा आइनपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवत आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने डिभिजन कार्यालयको आकलन छ ।
पटकपटक ठूलो पहिरो खस्दा मुग्लिन-नारायणघाट सडकमा गएको एक सातादेखि गाडी चल्न सकेका छैनन् । तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ । दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।

