घर जले पनि सत्कर्म कहिले छोडिन्न : उपाध्यक्ष लामा

राम कुमार दानी
३१ भाद्र २०८२, ११:०७
घर जले पनि सत्कर्म कहिले छोडिन्न : उपाध्यक्ष लामा

हेटौंडा /   हेटौंडामा जेनजीहरूको नाममा गरिएको आगजनी, लुटपाट र तोडफोड घटनाले हेटौंडा लगायत सम्पूर्ण जिल्लालाई स्तब्ध बनाएको छ । सरकारी भवन, निजी घर र व्यवसायिक प्रतिष्ठानहरू जलेर ठूलो नोक्सानी भएको छ । यस घटनाप्रति नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले आपत्ति जनाएका छन् । उनले दोषीलाई कानुनी दायरामा ल्याउन पनि स्पष्ट चेतावनी दिएका छन् ।

लामाको आफ्नै घरमा समेत आगजनी हुँदा ठूलो क्षति भएको छ । तर पनि उनले धैर्य नगुमाएकाे वताएका छन् । ७२ वर्षका उनका पिता तत्कालीन मालेका भूमिगत कार्यकर्ता भई अहिले पनि नेकपा एमालेका सङ्गठित सदस्य रहेका छन् । लामाले दृढ हुँदै भनेका छन् : “मेरो बुवाले भन्नुभयो – घर जल्दा पनि शरीर र मस्तिष्क बाँकी छ भने सत्कर्म कहिल्यै नछोड । यही शिक्षा आज पनि मेरो आत्मबल बनेको छ ।”

जनताको विश्वासलाई कहिले धोका दिएको छैन

भीमफेदी गाउँपालिकाको दुई कार्यकाल अध्यक्ष बनेर जनताको सेवा गरेका लामाले आफूविरुद्ध लागेको भ्रस्टाचारको आरोपको खण्डन गरेका छन् । उनले भने “यदि मैले पालिका अध्यक्ष हुँदा अनियमितता गरेको प्रमाणित भए म जनताको बीचमै झुण्डिन तयार छु । जनता मेरो भगवान् हुन् । मैले मेरो जनतालाई कहिल्यै धोका दिएको छैन र दिनेछैन । जनताले मलाई विश्वास गरेर दुई पटक भीमफेदीमा चुनाव जिताइदिनुभयो, मैले त्यो विश्वासलाई कहिल्यै धोका दिएको छैन ।”

लामाले अराजक कार्यमा संलग्न भएकाबारे प्रहरीलाई जानकारी दिन सबैलाई आग्रह गरेका छन् । “हेटौंडामा लुटपाट र आगजनीमा संलग्न जो कोही देख्नुभयो वा चिन्नुहुन्छ भने प्रहरी प्रशासनलाई खबर दिनुहोस् । सामाजिक सञ्जालमा आफैंले प्रमाण राख्ने अपराधीलाई कानुनले हदैसम्मको कारबाही गर्नेछ । यो मेरो मात्र पीडा होइन, सम्पूर्ण समाजकै साझा पीडा हो,” लामाले भनेका छन् ।

कार्यकर्तालाई धैर्य राख्न आग्रह

एमाले मकवानपुर जिल्ला उपाध्यक्ष रहेका लामाले यस घटनापछि निराश भएका कार्यकर्तालाई सम्बोधन गर्दै भने “मकवानपुरका १०२ वटै वडाका एमालेका साथीहरू, ग्रहण लाग्यो भन्दैमा सधैं अँध्यारो रहँदैन । बिहान फेरि सूर्य उदाउँछ । समाजले र जनताले हाम्रो दृढ भूमिकाको खोजी गरिरहेका छन् । त्यसैले आत्मबललाई कमजोर नबनाई दृढतापूर्वक अभियानमा लाग्नुस् ।” उपाध्यक्ष लामाले यस घटनालाई नागरिक अवधारणासँग जोड्दै, राज्य र जनताको सम्पत्ति जलाउने तथा लुटपाट गर्नेहरूको विरुद्ध कठोर कदम चालिने समेत बताएका छन् ।

प्रतिक्रिया