लागुऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर, एक वर्षमा २८९ जना पक्राउ

पालिका डायरी
७ श्रावण २०८२, १७:१४

हेटौंडा /  पछिल्लो समय मकवानपुर लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सिमानाका रक्सौलबाट पनि नजिकै छ । जसले गर्दा यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन् । झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ ।

जिल्लामा उत्पादन भएको लागुऔषध अन्यत्र बाहिरिने र बाहिर उत्पादन भएको लागुऔषध पनि मकवानपुर हुँदै ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। यसरी लागुऔषधको ओसारपसार हुने मकवानपुर लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ ।
यता, मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका, पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा र अफिमको खेति हुँदै आएको छ । लागुऔषधको खेति गरिनु गैरकानुनी हो । तर पनि यहाँका स्थानीयहरुले लुकीछिपी लागुऔषध उत्पादन गर्ने तथा बिक्रीका लागि छिमेकी मुलुकको सिमानासम्म पुर्याउने जस्ता क्रियाकलापले मकवानपुरमा प्रायः हरेक दिनजसो लागुऔषध कारोबारीहरु पक्राउ पर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार मकवानपुरमा गत आर्थिक वर्ष २०८१÷८२ मा लागु औषध सम्बन्धि मात्रै १ सय ८८ वटा मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुमा विभिन्न शीर्षकमा १ हजार ७५ वटा मुद्दा दर्ता भएको तथा यी मुद्दामा ९ सय २८ जना व्यक्ति पक्राउ परेको प्रहरीको तथ्यांक छ । जसमध्ये लागुऔषध सम्बन्धि १ सय ८८ वटा मुद्दा दर्ता हुँदा २ सय ८९ जना लागु औषध सम्बन्धि मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नेपाली नागरिकहरु मात्रै छैनन्। जसमा १३ जना विदेशी नागरिकहरु समेत रहेको डीएसपी अर्यालले बताए । उनका अनुसार १२ जना विदेशी पुरुष नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ भने एकजना बिदेशी महिला समेतलाई लागुऔषध कारोबारमा पक्राउ गरिएको तथ्यांक छ । विदेशी नागरिकमा सबैजना छिमेकी मुलुक भारतको रहेको प्रहरीले जनाएको छ ।

यसबाहेक २ सय ५९ पुरुष र १७ जना महिला पक्राउ परेको डीएसपी अर्यालले बताए। जसमा लागुऔषध ओसारपसार मात्र नभएर सेवनमा संलग्नहरु समेत रहेका छन् । गत आर्थिक वर्षमा उनीहरुको साथबाट ठूलो मात्रमा अवैध लागुपदार्थ बरामत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

एक वर्षको अवधिमा मकवानपुरको विभिन्न स्थानहरुबाट ६ हजार ४ किलो गाँजा, ५१ किलो ७ सय १० ग्राम चरेश, २६ किलो ८ सय ८० ग्राम अफिम बरामत गरेको बताएको छ । यस्तै, ६ सय २८ बोतल कोरेक्स, ९५ हजार २ सय ७१ थान नाइट्राभेट तथा ट्रामाडोल ट्याब्लेट÷क्याप्सुल, २ हजार ७ सय ५७ एम्पुल डाइजेपाम र ४ सय ७६ ग्राम ४ सय ३३ मिलिग्राम खैरो हिरोइन बरामत गरिएको मकवानपुर प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार उक्त लागुऔषध ओसारपसारमा प्रयोग भएका ५५ वटा सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसोत, जिल्लाका तीन स्थानीय तहको ग्रामिण भेगमा लागुऔषधको खेती हुने गरेकोमा यसलाई नष्ट गर्न मकवानपुर प्रहरीले अभियान नै सञ्चालन गर्ने गरेको छ । जसमा १ सय २० बिगाहा ४ कठ्ठा जमिनमा रोपिएको गाँजा र ३९ बिगाहा १४ कठ्ठा जमिनमा रोपिएको अफिम नष्ट गरिएको मकवानपुर प्रहरीको तथ्यांक छ । उक्त अभियानमा ४ सय २१ जना प्रहरी परिचालित भएको मकवानपुर प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिक्रिया