पूर्वगृहमन्त्री कमल थापालाई लछारपछार पार्दै प्रहरीले लियो नियन्त्रणमा

पालिका डायरी
१८ जेष्ठ २०८२, १८:२६
पूर्वगृहमन्त्री कमल थापालाई लछारपछार पार्दै प्रहरीले लियो नियन्त्रणमा

राजावादीहरूको प्रदर्शनका क्रममा शाहीकालीन गृहमन्त्री कमल थापालाई प्रहरीले लछारपछार पार्दै नियन्त्रणमा लिएको छ । राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापालाई प्रहरीले काठमाडौँको नक्सालस्थित नारायण चौरबाट नियन्त्रणमा लिएको हो ।

राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको कारण नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए । जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादी संगठनले प्रदर्शन गरिरहेका छन् ।

राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो । उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए । केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो ।

राजावादीले काठमाडौँको नारायणहिटी आसपास पनि प्रदर्शन गर्ने तयार गरेपछि उक्त क्षेत्र प्रशासनले निषेधित घोषणा गरेको थियो ।

२०६२-६३ को जनआन्दोलन उत्कर्षमा पुगिरहँदा गृहमन्त्री थापा नै थिए । त्यसबेला लोकतन्त्रको पक्षमा भइरहेको आन्दोलनका सहभागीहरूमाथि गोली चलाउन र ठूलो संख्याका नेता–कार्यकर्तामाथि धरपकड गर्न आदेश दिने थापा नै थिए ।

प्रतिक्रिया