कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह

राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन् ।
नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
केहीबेर अघि काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो । ‘उहाँ (दीपक सिंह)लाई प्रहरीले नियन्त्रणमा लिएको छ’ परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि उनलाई प्रहरी परिसरबाटै पक्राउ गरिएको बताए । ‘राप्रपा सांसद माननीय दिपक सिहँलाई प्रहरी परिसरमा काठमाडौँ रहेका कमल थापालाई भेटने परिसर भित्र नै पुग्दा नै पक्राउ गरेको छ । राज्य आतंक बन्द गर’ उनले भनेका छन् ।
यसअघि कमल थापा, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र डा राजिव झा छन् । राजावादीहरूले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि गणतन्त्र विरोधी आन्दोलन जारी राखेका छन् । उनीहरूले यो आन्दोलनलाई निर्णायक आन्दोलन पनि भनेका छन् ।
