हेटौंडा / कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन भएको एक महिने ब्युटिसियन तथा मेकअप तालिमको समापन भएको छ। बिहीबार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको थियो। सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको थियो।
वडा नम्बर ९ का अध्यक्ष भूवनसिंह घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले महिलाहरु नै संस्कार र संस्कृति भएको बताउँदै, उनीहरू सौन्दर्यताको एक रूप भएको बताए। सीप दीगो बनाउनका लागि टिकाउ र बिकाउ हुनुपर्ने उल्लेख गर्दै उनले अब सिकेको सीप बजारमा बिक्नुपर्ने बताए। उनले सीप सिकेर उद्यम बन्नुपर्नेमा जोड दिँदै बैकुण्ठमा होमस्टे तालिम पश्चात होमस्टे सञ्चालन थालिएको उदाहरण प्रस्तुत गरे।
अध्यक्ष मुक्तानले आर्थिक वृद्धिका लागि पर्याप्त स्रोत नभए पनि प्रदेश र संघीय सरकारसँग योजना माग गरेर तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिए। उनले सीप सिकेपछि व्यवसायिक रूपमा लाग्न सहभागीहरूलाई आग्रह गरे।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पनि सीप सिकेर उद्यम बन्नुपर्नेमा जोड दिए। व्यवसाय गर्न नसके पनि गाउँघरमै घरदैलो सेवा दिएर आम्दानीमा जोडिन सकिने उनले बताए। राज्यको लगानीमा प्राप्त तालिमको भरपूर उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
तालिमकी सहभागी तारा थिङले तालिमपछि पार्लर सञ्चालन गर्न सकिने बताइन्। यदि एडभान्स तालिम लिन पाइयो भने अझ निखारिने विश्वास व्यक्त गर्दै समूहमा मिलेर वा एक्लै भए पनि सिकेको सीपको सदुपयोग गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सुमित्रा थिङ, कार्यक्रम संयोजक इन्दिरा न्यौपाने, वडा नम्बर ९ की सचिव पूजा बल्लभ, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, तालिम प्रशिक्षक माला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। एक महिने ब्युटिसियन तथा मेकअप तालिम र तीन दिने उद्यमशीलता तालिममा १८ जना महिलाको सहभागिता रहेको थियो।

