हेटौंडा / नारी संरक्षण केन्द्रको आयोजनामा, डब्लुपिसी नेपाल, फ्रेण्ड्स अफ डब्लुपिसी नेपालको सहयोग तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को समन्वयमा सञ्चालित तीन महिनाको सिलाइ कटाइ तालिम आज सम्पन्न भएको छ।
तालिमको समापन विशेष कार्यक्रमबीच सम्पन्न गरिएको थियो। कार्यक्रम नारी संरक्षण केन्द्रकी अध्यक्ष दिपा गुरुङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
स्वान्ती कायस्थ राजथलाको प्रशिक्षणमा सञ्चालित उक्त तीन महिनाको तालिममा मकवानपुरको विकट राक्सिराङ ९ का ८ जना चेपाङ महिलाहरू सहभागी थिए। प्रशिक्षक राजथलाले सहभागीहरूले सिलाइ कटाइसम्बन्धी आधारभूत ज्ञान, आधुनिक मेसिनको प्रयोग, विभिन्न कपडाका डिजाइन तथा आवश्यकताअनुसार सिलाइ गर्ने सीप हासिल गरेको जानकारी दिइन्।
तालिममा सहभागी किशोरी तथा महिलाहरूले सीप सिकेपछि स्वरोजगार बन्ने अवसर प्राप्त भएको अनुभव बाँडे। उनीहरूले तालिमपछि आफ्नै गाउँ फर्केर व्यवसाय सुरु गर्ने योजना रहेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देलले स्थानीय तहमा रोजगारी सिर्जना गर्न यस्ता तालिमहरू उपयोगी हुने बताए। उनले यी पिछडिएको वर्गका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै, आगामी दिनमा वडाबाट यस्ता कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए।
अध्यक्ष सिग्देलले सहभागी प्रशिक्षार्थीहरूलाई आफ्नो सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गर्दै सिलाइ कटाइ व्यवसायले स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, गाउँ फर्केर हस्तान्तरण गरिएका सिलाइ सामग्रीको उचित प्रयोग गर्न पनि अनुरोध गरे।
तालिम समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसहित सिलाइ मेसिन, र्याक तथा सिलाइमा आवश्यक सामग्रीहरूको वितरण गरिएको थियो।
कार्यक्रममा वडा नं. ४ की वडा सदस्य गीता त्रिपाठी, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, ह्युमन राइट्स मकवानपुरकी कार्यक्रम समन्वयक कुमारी मोक्तान, ह्युमन रेस्क्यु नेपाल मकवानपुरकी अध्यक्ष यलिना ढुंगाना लगायत नारी संरक्षण केन्द्रका प्रतिनिधिहरू, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

