स्थानीय तहमा खानेपानी बोर्ड गठनको आवश्यकता छ : नेपाल

पालिका डायरी
२१ बैशाख २०८२, १७:३६
स्थानीय तहमा खानेपानी बोर्ड गठनको आवश्यकता छ : नेपाल

हेटौंडा / प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले स्थानीय तहमा खानेपानी र सरसफाइको क्षेत्रमा दिगो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न “खानेपानी बोर्ड” स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतबार हेटौंडामा सम्पन्न “खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासनसम्बन्धी” कार्यशाला गोष्ठीमा बोल्दै डा. नेपालले उपभोक्ता समितिहरूको संरचना रहँदै आएको भए पनि अब नीति र कार्यक्रममार्फत खानेपानी बोर्ड गठनको पहल आवश्यक भएको बताए।

खानेपानी र सरसफाइ क्षेत्रमा आफूले लामो समय काम गरेको अनुभव साझा गर्दै उनले दिगो विकास लक्ष्य (SDG) हासिल गर्न यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। सुरुवातमा पूर्ण दिशामुक्त अभियान सञ्चालन गरी सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्नुपर्ने उनले बताए।

गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापामगरले खानेपानी र सरसफाइ क्षेत्रलाई पनि अन्य पूर्वाधार विकास सरह प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। महासंघले नीति निर्माणदेखि स्रोत परिचालनसम्मको चरणमा पैरवी गरिरहेको जानकारी गराउँदै उनले स्थानीय तहका जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए।

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले मकवानपुरका विकट क्षेत्रहरू, जस्तै राक्सिराङ र कैलाशमा जनचेतना अभिवृद्धि गरी व्यवहार परिवर्तन ल्याएर खानेपानी तथा सरसफाइमा सुधार गर्न सकिने बताए। हाल गाउँपालिकामा खानेपानीसम्बन्धी ऐन निर्माणको चरणमा रहेको र वाइन टु वाटरजस्ता संस्थासँग सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे।

कार्यक्रम राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा दुई दिने कार्यशाला सञ्चालन भएको हो। कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीहरू, दुबै गाउँपालिकाका उपाध्यक्ष, प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शाखा प्रमुखहरू, र विभिन्न सहकार्य संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) र वेल्ट हंगर हिल्फे (WHH) को सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया