सेनामा गएका साथीहरूको पेन्सन पाक्यो, बुवाले दिएको सारंगी बजाएर परिवार पाल्दैछन् दीपक

ढाडमा कालो झोला । हातमा सारंगी । त्यही सारंगीको धुनसँगै आफ्नो जीवनलाई लय दिइरहेका छन् उनी अर्थात् दीपक गन्धर्व ।
दाङको घोराही नगरपालिका-३ घर भएका गन्धर्व दाङ भने विरलै पुग्छन् । किनकि उनको चुल्हो बाल्ने ठाउँ नै देशको राजधानी काठमाडौँ हो । त्यसबाहेक फाट्फुट्ट देशका अन्य सहर पनि पुग्छन् उनी ।
यसै क्रममा केही दिनदेखि उनी हेटौँडामा छन् । अहिले उनी हेटौँडाका टोल-टोल, गल्ली-गल्लीमा सारंगीको धुन सुनाउँदै डुलिरहेका छन् ।
माया तिमी आउँछौ कि भनेर
भीरको बाटो सम्मै छ खनेर
जापान टोकियो, जापान टोकियो
मैले चिठ्ठी पठाकै थेँ कता रोकियो ?
उमेरले ४ दशक नाघेका दीपक गन्धर्व यस्तै गीत गुन्गुनाउँदै सांरगी रेट्छन् र जीविकाका लागि खर्च जुटाउँछन् । रहर त उनको नेपाली सेना बन्ने थियो, तर उचाइ नपुगेकै कारण बाउबाजेकै पेसा अँगाल्न बाध्य भएको उनी बताउँछन् ।
‘द्वन्द्वकालका सेनामा भर्ती भएका साथीहरूको पेन्सन पाक्यो, म भने अझै यही सांरगीको टेन्सनमा छु’, हेटौँडाको मानसचोकमा भेटिएका गन्धर्वले ठट्टा गर्दै भने ।
बुवा राते गन्धर्वको साथ लागेर १३/१४ वर्षकै उमेरदेखि सांरगी रेट्न सुरु गरेका उनले आधा दर्जन सारंगी फेरिसके । सारंगीको धुन बेचेरै पालिएको छ- दीपकको ५ जनाको परिवार ।
‘गाउँमा शुभकार्य हुँदा गन्धर्वलाई गीत गाउन बोलाइन्थ्यो । बुवाले गीत गाइरहँदा मैले सारंगी बजाउन सिकेँ’, दीपक आफ्नो बाल्यकाल स्मरण गर्छन्, ‘एक/दुई वर्षमा त गीत गाउन पनि जानेँ । बुवालाई बोलाउने मान्छेहरूले जेठो छोरालाई पनि ल्याऊ भन्थे अरे ! त्यही भएर बुवाले सधैँ लानुहुन्थ्यो । मैले गीत गाउँदा र नाचेको देखेर सबैजना दंग पर्थे ।’
‘काठमाडौँबाट रात्रिबस चढेर आएका हौँ । म त हेटौँडा पहिलोपटक आएको हुँ । मेरो साथी प्रकाशले ल्याएको हो । ऊ त प्रायः यहाँ आइरहेको हुन्छ । सारंगी बजाउनकै लागि हामी कता-कता पुगिरहेका हुन्छौँ’, दीपकले सुनाए ।
परिवारको खम्बा थिए- उनका बुवा राते गन्धर्व । तर दीपक १४ वर्षकै हुँदा बुवा बिते । एउटा भाइ र आमाको संरक्षण गर्ने जिम्मेवारी उनको काँधमा आयो । भाइलाई पढाएर सेना बनाउने सपना पूरा गर्नु थियो भने आमालाई बुवा नभएको महसुस हुन नदिने गरी पाल्नु थियो ।
यता राम्रो सारंगी बजाउने भनेर गाउँभरि चर्चा कमाएका आफ्ना पिता (राते गन्धर्व) को साख जोगाइराख्नु पनि थियो। गाउँमा बुवापछिको पहिलो रोजाइ थिए- दीपक ।
कक्षा ५ पढ्दापढ्दै पढाइ छोडेका उनले घरखर्च जुटाउन गाउँ वरपर नै सारंगी बजाउने थाले । गाउँमा उतिबेला सारंगी बजाउने गन्धर्वलाई सिदा दान दिइन्थ्यो । चामल, दाल, बेसार नुन र बारीमा फलेका हरियो तरकारी पनि राखेर दान दिन्थे । पैसा कमैले मात्रै दिन्थे । यही खाद्यान्न जम्मा गरेर दीपकको घरको चुल्लो बल्थ्यो ।
गाउँमा बसेर कमाइ नहुने अवस्था देखिएपछि उनका पाइला बजारतर्फ मोडिए । १९ वर्ष पार गरेर उनी २० वर्षमा प्रवेश गरेका थिए । गाउँकै दाइ/काकाहरूको पछि लागेर उनी बसमा बजार आउन थाले ।
दाङको तुलसीपुर, घोराही चल्ने बसमा आउँदा-जाँदा नै राम्रो कमाइ हुन थाल्यो । दिनभरि बजारतिरै सारंगी बजाउँदा त सोचेभन्दा पनि राम्रो पैसा हात पर्यो ।
यसरी हाताहाती पैसा आउन थालेपछि दीपक सहरकेन्द्रित भए । ‘गाउँमा त आजभोलि चाडपर्व मान्न मात्रै गइन्छ । कमाइ हुने भनेकै सहरमा मात्रै हो’, उनी सुनाउँछन् ।
बुवाले दिएको सारंगी बोकेर जिल्लाका विभिन्न ठाउँमा पुग्न थाले । दीपकका भाइ दिनेश गन्धर्वले पनि कक्षा ८ मै पढाइ छाडे । उनी पनि दाजुको साथ लागेर सारंगी रेट्न सुरु गरे ।
‘बुवाले दिने अंश भने पनि सम्पत्ति भने पनि यही एउटा सारंगी हो’, दीपक भन्छन्, ‘पकाएर खाने एकसरो भाँडा र सारंगी दिएपछि अंशबन्डा नै सकिन्थ्यो । लालपुर्जा भने पनि, सम्पत्ति भने पनि यही एउटा सारंगी हो । बुवाले दिएको सारंगी बजाउने सीपले नै जीवन कट्न लाग्यो ।’
सारंगी बोकेर हिँडेका गन्धर्वका गीत सुन्न गाउँका मानिस निकै रहर गर्छन् । कथा, व्यथा र घटनालाई गीतको लय ढालेर सारंगीको धुन थपिदिँदा सुन्नेको लर्को लाग्छ ।
‘तर सहरका मानिसहरूको रहर नै बेग्लै हुँदो रहेछ, उनी सुनाउँछन्, ‘बसमा गीत गाउन चढियो भने पनि बूढापाका मान्छेहरूले ध्यान दिएर सुन्छन्। सकेको दान पनि दिन्छन् । तर त्यही बसमा भएका तन्नेरीहरू झर्को मान्छन् ।’
दिनभरि डुल्दा दीपकले दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म कमाउँछन् । कतै ठूलै जमात भेटिँदा त २ हजार, २५ सयसम्म कमाइ हुने सुनाउँछन् ।
यही कमाइले उनको ५ सदस्यीय परिवार धानिरहेको छ । र आफ्नो कमाइमा सन्तुष्ट छन् दीपक । ‘सन्तुष्ट के कुरामा मान्ने भन्ने पनि हो’, उनले थपे, ‘सँगैका साथीहरू विदेश गएर आए । बजारमा बिल्डिङ घर ठड्याएका छन् । कोही सैनिक भएर पेन्सन पकाइसके । म भने यही थोत्रो सारंगी रेटिरहेको छु । तर पनि मलाई केही गुनासो छैन, पुर्खाको पहिचान जोगाइरहेको छु। खान, लाउन र बालबच्चा पढाउन पुगिरहेकै छ । यतिमै सन्तुष्ट छु ।’
दीपकको परिवारमा अहिले आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा २१ वर्षका भए। तर उनी सारंगी बजाउन थोरै-थोरै आए पनि यही पेसा अँगाल्न चाहँदैनन् । दीपकलाई भने बिस्तारै बाउबाजेको पेसा लोप हुने चिन्ता लागेको छ ।