मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते

हेटौंडा / मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते भएका छन्। मंगलबार (आज) दिउँसो ३ बजेतिर चट्याङ लागेर विद्यालयबाट घर फर्कदैँ गरेकी १५ बर्षीय बालिका घाइते भएकी छिन् । जिल्लाको मनहरी गाउँपालिका ८ सिमपानी स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत कविता थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जनाकारी दिए। उनको अवस्था मध्यम रहेको र मनहरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै, आज दिउँसो ३ः३० बजेतिरको समयमा चट्याङ लागेर राक्सिराङ गाउँपालिका ४ का ३५ बर्षीय टीकाराम मोक्तान घाइते भएका छन् । बाटोमा हिँडिरहेको बेला एक्कासी चट्याङ लागेर मोक्तान घाइते भएको प्रहरीले जनाएको छ । घाइते उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राक्सिराङ लगिएकोमा बाँया गोडा नचल्ने अवस्था रहेको तर बोल्न भने सक्ने प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।