लागूऔषध न्यूनीकरणमा सरोकारवालाको चासो,  प्रयोगकर्ताहरूको पुनर्स्थापना गर्नमा सांसद र सरोकारवालाहरूको जोड

पालिका डायरी
१ असार २०८१, १२:०८

हेटौंडा /  बागमती प्रदेशमा लागूऔषधका प्रयोगकर्ताहरू निकै बढेका छन् । लागूऔषध प्रयोगकर्ताहरू मात्र नभएर ओसारपसार गर्नेहरु पनि उत्तिकै छन् । बागमती प्रदेशको राजधानी हेटौंडा लागूऔषध ओसारपसार गर्ने ट्रान्जिट जस्तै बनेको छ । 


जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा सांसद र सरोकारवालाहरूको भूमिका विषयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सांसदहरू तथा सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् । कार्यक्रमका सहभागीहरू र सांसदहरुले लागूऔषध ओसारपसार गर्नेहरू पक्राउ र गाँजा, अफिम खेती फडानी गरेर मात्र भन्दा पनि यसको प्रयोगकर्ताहरूको पुनर्स्थापना गर्नमा जोड दिएका छन् । 


भारतबाट सिरीन्ज, ट्याब्लेट लगायतका लागूऔषध ल्याउने र बागमती प्रदेशको मकवानपुर, चितवन, धादिङ लगायतका जिल्लामा उत्पादन गरिएको गाँजा, अफिम, चरेश लगायतका लागूऔषध भारत निकासी गर्ने केन्द्रनै हेटौंडा परेको छ । अरु अवैध बाटोबाट निकासी गर्ने गरेपनि यहाँका राजमार्गबाट धेरैनै लागूऔषध निकासी हुने गरेको प्रहरीको तथ्याङ्क रहेको छ । लागूऔषध नियन्त्रणमा प्रयास पनि प्रहरीबाट भएको छ । तर, त्यो अली अपुग जस्तै भएको छ । प्रदेशका हरेक जिल्लामा लागूऔषध ओसार पसार र प्रयोग गरेका कारण युवाहरू पक्राउ परेका छन् । मकवानपुरको भीमफेदी कारागार र जिल्ला प्रहरी कार्यालय मकवानपुरको थुनुवा कक्षमा अरु अपराधमा संलग्नको तुलनामा लागूऔषधका कारण थुनामा रहनेहरू धेरैनै रहेका छन् ।
बागमती प्रदेशको काठमाडौं उपत्यका भन्दा बाहेकका १० जिल्लाको ३ वर्षको तथ्याङ्क हेर्ने हो भने पनि लागूऔषधको ओसारपसार र सेवन गर्ने स्थिति निकै भयावह देखिन्छ । बागमती प्रदेशका १० जिल्लामा मात्र चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा लागूऔषध सहित ४४५ जना पक्राउ परेका छन् । ३७५ जना स्वदेशी पुरुष पक्राउ परेका छन् भने ४१ जना स्वदेशी महिला पक्राउ परेका छन् । लागूऔषध सहित विदेशी  महिला र पुरुष गरी २९ जना पनि पक्राउ परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 


कार्यक्रममा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति छिरिङ दार्जे लामा, अरु प्रदेशसभाका सदस्यहरू भारती कुमारी पाठक, गिरबहादुर तामाङ, कृष्ण प्रसाद सिलवाल, उर्मिला सुनुवार, बिन्दु श्रेष्ठ, शिवराज अधिकारी, हरि प्रभा खड्गी, हरि सापकोटा, प्रेम भक्त महर्जन, बालकुमारी विश्वकर्मा लगायतकाले यस विषयलाई अब प्रदेशसभामा आफूहरूले जोडतोडका साथ उठाउने बताउनुभयो । 


हरेक क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोगकर्ताहरुलाई न्यूनीकरण गर्न, यसको ओसारपसारलाई न्यूनीकरण गर्नका लागि चासो प्रदेश सरकारले कम चासो राखेको बताउनु भएको छ । तीन तहका सरकारले अझ बागमती प्रदेश सरकारले उद्योगी व्यवसायीहरूका भवन निर्माण गर्नका लागि लाखौ बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोग गर्ने र यसको रोकथामका लागि बजेट नछुट्याइको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा लागू औषध सहित प्रदेशका १० वटा जिल्ला मध्य सबै भन्दा धेरै मकवानपुर जिल्लामा मात्र २०८ जना पक्राउ परेका छन् । चितवन जिल्लामा १३८ जना पक्राउ परेका छन् । 


चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा प्रहरीले लागूऔषध गाँजा मात्र १० जिल्लामा ४७९८ केजी बरामद गरेको छ । चरेस १८६ केजी बरामद गरेको छ । अरु सिरिन्ज  र ट्याबलेट प्रकारका लागूऔषध भने हजारौँको सङ्ख्यामा प्रहरीले बरामद गरेको छ ।  बागमती प्रदेशका १० जिल्लामा मात्र बितेको आर्थिक वर्ष २०७९/०८० मा लागूऔषध सहित ५५६ जना पक्राउ परेका छन् । ४९० जना स्वदेशी पुरुष पक्राउ परेका छन् भने ३१ जना स्वदेशी महिला पक्राउ परेका छन् । लागूऔषध सहित विदेशी महिला र पुरुष गरी ३५ जना पनि पक्राउ परेका छन् । 


बितेको आर्थिक वर्षमा लागू औषध सहित प्रदेशका १० वटा जिल्ला मध्य सबै भन्दा धेरै मकवानपुर जिल्लामा मात्र २५० जना पक्राउ परेका छन् । चितवन जिल्लामा १६४ जना पक्राउ परेका छन् ।  बितेको एक आर्थिक वर्षको अवधिमा प्रहरीले लागूऔषध गाँजा मात्र १० जिल्लामा ८ हजार ३८२ केजी बरामद गरेको छ । चरेस १७० केजी बरामद गरेको छ । अरु सिरीन्जट्याव्लेट प्रकारका लागूऔषध भने हजारौको संख्यामा प्रहरीले बरामद गरेको छ ।
बागमती प्रदेशका १० जिल्लामा मात्र आर्थिक वर्ष २०७८/०७० मा लागूऔषध सहित ५३० जना पक्राउ परेका छन् । ४९१ जना स्वदेशी पुरुष पक्राउ परेका छन् भने २७ जना स्वदेशी महिला पक्राउ परेका छन् । लागूऔषध सहित विदेशी महिला र पुरुष गरी १२ जना पनि पक्राउ परेका छन् ।  आर्थिक वर्ष २०७८/०७० मा लागू औषध सहित प्रदेशका १० वटा जिल्ला मध्य सबै भन्दा धेरै मकवानपुर जिल्लामा मात्र २३० पक्राउ परेका छन् । चितवन जिल्लामा १७२ जना पक्राउ परेका छन् ।
बितेको एक आर्थिक वर्षको अवधिमा प्रहरीले आगूऔषध गाँजा मात्र १० जिल्लामा ३ हजार ७३५ केजी बरामद गरेको छ । चरेश २०० केजी बरामद गरेको छ । अरु सिरीन्जट्याव्लेट प्रकारका लागूऔषध भने हजारौको संख्यामा प्रहरीले बरामद गरेको छ । 


यसैगरी मकवानपुर सहित बागमती प्रदेशका केही जिल्लामा गाँजा र अफिम खेती हुने गरेको छ । मकवानपुरको बिकट राक्सिराङ, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका विकट क्षेत्रमा लागूऔषध गाँजा र अफिम खेती हुने गरेको छ । यसको फँडानीका लागि हरेक वर्ष जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम फडानी पनि गर्दै आएको छ । 


चालु आर्थिक वर्षमा नौ महिनाको अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा लागूऔषध गाँजा खेती फडानी गर्नका लागि निकै प्रहरी परिचालन गरिएको छ । मकवानपुर सहित १० जिल्लाका विकट क्षेत्रमा लगाइएको गाँजा मात्र ३९५ बिगाहा क्षेत्रफलमा फडानी गरिएको छ । १० जिल्ला मध्यमा पनि सबै भन्दा धेरै मकवानपुरको बिकट क्षेत्रमा लगाइएको गाँजा भने २७३ बिगाहामा फडानी गरिएको छ । यस प्रदेशको मकवानपुर र धादिङ जिल्लामा २२२ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती समेत नष्ट गरिएको छ । 


बितेको आर्थिक वर्ष २०७९–०८० मा बागमती प्रदेशका १० वटा जिल्लामा लागूऔषध गाँजा खेती फडानी गर्नका लागि सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मकवानपुर सहित १० जिल्लाका विकट क्षेत्रमा लगाइएको लागू औषध गाँजा खेती मात्र २०३ बिगाहा ६५३ कठ्ठा क्षेत्रफलमा फडानी गरिएको छ । १० जिल्ला मध्यमा पनि सबै भन्दा धेरै मकवानपुरको बिकट क्षेत्रमा लगाइएको गाँजा भने १४५ बिगाहा ४१ कठ्ठामा फडानी गरिएको छ । यस प्रदेशको मकवानपुर र धादिङ जिल्लामा २२७ बिगाहा ८० कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती समेत नष्ट गरिएको छ । 


आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर सहित १० जिल्लाका विकट क्षेत्रमा लगाइएको गाँजा मात्र २०५ बिगाहा १३६६ कठ्ठा क्षेत्रफलमा फडानी गरिएको छ । १० जिल्ला मध्यमा पनि सबै भन्दा धेरै मकवानपुरको बिकट क्षेत्रमा लगाइएको गाँजा भने १४२ बिगाहा ४६ कठ्ठामा फडानी गरिएको छ । यस प्रदेशको मकवानपुर र धादिङ जिल्लामा १६६ बिगाहा २४ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती समेत नष्ट गरिएको छ । 


यसैगरी लागूऔषध ओसार पसार गरेको आरोपमा पक्राउ परेकाहरू पनि धेरै छन् । यस प्रदेशका बिभिन्न जिल्लामा उत्पादन भएका लागूऔषध भारत लगायतका स्थानमा लैजाने र भारतबाट विभिन्न लागूऔषध ओसारपसार गरेको आरोपमा मकवानपुरको भीमफेदी कारागारमा रहेको एक हजार ५६ जना कैदी र थुनुवा रहेका छन् । त्यस मध्यमा  लागूऔषधका कैदीहरू १७३ जना रहेका छन् र थुनुवा १७८ जना रहेका छन् । मकवानपुरका आधा दर्जन भन्दा बढी लागूऔषध पुनरस्थापना केन्द्रहरुमा लागूऔषध प्रयोगकर्ताहरू सयौजना रहेका छन् । 


बागमती प्रदेशसभाका सदस्य भारती पाठकले लागु औषध विरुद्धको अभियानमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना रहेको बताउनुभयो । एउटा व्यक्ति लागूऔषध दुर्व्यसनीमा फसेपछि उ त रोगी भइनै हाल्यो परिवारका अन्य सदस्यलाई पनि रोगी बनाउने बताउनुभयो । उहाँले भन्नुभयो–‘पीडित परिवार र नातेदार सम्म हुन्छन् । जनचेतनाको काम नै सबैभन्दा महत्वपूर्ण भएकोले यस्तो पुण्यकाममा म आफू पनि सहभागी हुन चाहन्छु । व्यक्तिगत रुपमा र संस्थागत रुपमा अभियानमा लाग्नु जरुरी छ । लागूऔषध दुर्व्यसनीमा फसेकाहरूलाई उपचार सँगसँगै परिवार समुदायको माया पनि उत्तिकै आवश्यक छ ।’


बागमती प्रदेशसभाका अर्का सदस्य गिरीबहादुर तामाङले व्यक्तिमा नैतिक शिक्षा, समाजिक शिक्षाको कमीले गर्दा लागूऔषधको प्रयोग बढेको बताउनुभयो । दिन दिनै लागूऔषध प्रयोगकर्ता बढे भनिन्छ, तर रोकथामको लागि सरकारले के गरिरहेको छ पत्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ यसरी बढ्यो मात्रै भनेर हुन्छ र रु बढ्दो सङ्ख्यालाई रोक्दै र बढ्न नदिनको लागी जनचेतना बढाउन पर्यो । अर्को समस्या बेरोजगारीको कारण लागूऔषध प्रयोगकर्ता बढेका हुन्, रोजगारीको सिर्जना गरिनु पर्छ ।’
मासिक त्रैमासिक रुपमा लागूऔषध विरुद्ध विभिन्न कार्यक्रम गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । रोगीलाई उपचारमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।
बागमती प्रदेशसभाका अर्का सदस्य हरिप्रभा खड्कीले प्रेम विवाह, पारिवारिक विचलनको कारण लागूऔषधको प्रयोग गर्ने आदत बस्ने गरेको बताउनुभयो । यसको नियन्त्रणको लागि कडा भन्दा कडा कानून बनाइनु पर्ने बताउनुभयो । 


बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले युवा जमातमा लागूऔषध दुर्व्यसनीको सवाल भयावह बन्दै आएको बताउनुभयो । युवाहरू किन दुर्व्यसनीमा फस्ने गरेका छन् त्यो कारण खोजेर समाधानमा सरकार लाग्नु पर्छ, युवा परिषद सहकार्यको लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले बजेट विनियोजनको समय भएकोले यता तर्फ पनि ध्यान दिन यो कार्यक्रमले झकझकाएको छ । लागूऔषध विरुद्ध लाग्नेलाई प्रोत्साहन र उपचारमा सहजता ग्यारेन्टी हुनु जरुरी छ ।’
कार्यक्रममा नेपाल चिकित्सकसंघ मकवानपुरका अध्यक्ष डा। हरि खड्काले पछिल्लो समय डाक्टरले उपचारमा चासो दिन थालेको बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पनि पछिल्लो समय लागूऔषध प्रयोगपछि मानसिक अवस्थामा समस्या भएकाहरूलाई छुट्टै उपचार कक्षको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ परामर्श सेवालाई प्रभावकारी बनाउनमा सबैभन्दा बढी जरुरी छ । सही ढंगले परामर्श गर्न सकियो भने लागुको नशामा फसेको व्यक्तिलाई सजिलै छुट्याउन सकिनेछ । स्कुल कलेजहरुमा यो ज्ञानको अभाव छ । लागूऔषध प्रयोग गर्दा हुने बेफाइदाबारे प्रचारप्रचार व्यापक हुनु पर्छ । विद्यालय पाठ्यक्रममा समावेश गर्न सकिए त झनै प्रभावकारी हुने थियो ।’


कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल चिकित्सक संघ मकवानपुरका अध्यक्ष डाक्टर हरि बहादुर खड्का, नेपाल औषधी व्यावसायी संघ मकवानपुरका नारायण लाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज न्यौपाने, मकवानपुर महिला समुहका अध्यक्ष कमला सुवेदी, फ्रेण्डस हेटौंडाका संयोजक किरण थापा, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा, रिकभरिङ नेपालका पूर्व अध्यक्ष शान्ता तामाङ, केन्द्रीय सदस्य सौजन डिसी, सन्दीप शाक्य, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर चितवनका विभिन्न संघसंस्था र यहाँका तीन वटा क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू समेत गरेर ९१ जनाको उपस्थिति रहेको थियो । 


कार्यक्रममा पूर्व लागूऔषध दुर्व्यसनीहरूको सरकारले आफूहरू समाजमा पुनर्स्थापित भएपनि कुनैपनि क्षेत्रबाट सहयोग नगरेको बताएका छन् । कार्यक्रममा सहभागि सामाजिक संघसंस्था र क्याम्पसका विद्यार्थीहरूले लागूऔषधका प्रयाेगकर्ताहरु बढ्दै गएको र यस क्षेत्रमा सरकारले न्यूनीकरणका लागि विभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । 

प्रतिक्रिया