पुनः मतगणना रोक्न व्यास नगरपालिका प्रमुख न्यौपाने सर्वोच्चमा

पालिका डायरी
२४ जेष्ठ २०८१, १६:२२

हेटौंडा / तनहुँको व्यास नगरपालिकाको मत परिणामसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ। उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। यसको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।

उच्चको निर्णय सर्वोच्चबाट पुनरवलोकन हुन सक्ने र सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशकै भरमा पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने उनको दाबी छ।

गत जेठ १ गते व्यास नगरपालिकाको पुनस्मतगणना गर्न उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले आदेश दिएको थियो। निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ। असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै तिथिमिति तोकिदिएको थियो।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए।

प्रतिक्रिया