ओलीलाई बालेनको चेतावनी- गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !

पालिका डायरी
२१ जेष्ठ २०८१, १०:४५
बालेन भन्छन्- गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

काठमाडौँ / काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।

उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन चेतावनी दिएका छन् ।

उनले भनेका छन्:  

१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  

यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । 

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

प्रतिक्रिया