एमाले मकवानपुर अधिवेशन : नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी दर्ता

पालिका डायरी
१९ जेष्ठ २०८१, २१:३७
एमाले मकवानपुर अधिवेशन : नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी दर्ता

नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि शनिबार पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी परेको छ ।

यस्तै उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाईं र भरत दुलाल रहेका छन् ।

यस्तै, सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट, सुमित्रा काफ्ले, नरहरि महत र राजन थापा गरी पाँच जनाको उम्मेदवारी परेको छ भने उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्बा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी परेको छ।

उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी परेको छ । सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन गर्ने विषयमा निर्वाचन प्रतिनिधिहरुले असन्तुष्टी जनाएपछि निर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो ।

यता, सबैभन्दा चर्चाको बिषय बनेको अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया नै पेचिलो बन्ने देखिन्छ । जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो ।

कुल ७६९ जना अधिवेशन प्रतिनिधि रहेका छन् । जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहेको अधिवेशनले १०५ सदस्य जिल्ला कमिटी निर्माण गर्नेछ।

प्रतिक्रिया