सनराइज सहकारीको ‘तनाव’मा थिए निर्मल, सलको पासो लगाएर झुण्डिए

पालिका डायरी
२९ बैशाख २०८१, १८:२४
सनराइज सहकारीको ‘तनाव’मा थिए निर्मल, सलको पासो लगाएर झुण्डिए

चितवनको भरतपुर महानगरपालिका–१४ बरौजीमा रहेको चौधरी टोलका २४ वर्षीय निर्मल कुमार महतोले आफ्नै कोठामा मृत भेटिए ।

गत बिहीबार (२७ गते) बिहान ९ बजेतिरको समयमा समयमा उनी आफैँ सुत्ने कोठाको पंखामा भुण्डिएको अवस्थामा फेला परेका हुन् । अघिल्लो दिन अर्थात् बुधबार साँझ सँगै खाना खाएर सुतेको छोराले भोलिपल्ट बिहान अबेरसम्म ढोका नखोलेपछि निर्मलका बाबु गौरीमान महतोले ढोका ढकढक्याए ।

तर निर्मलले कुनै प्रतिउत्तर दिएनन् । गौरीमानको मनमा चिसो पस्यो । ढोकाको सानो प्वालबाट चिह्याएर हेर्दा निर्मल पंखा सलको पासो लगाएर भुण्डिएको अवस्थामा देखिए । गौरीमानले अत्तालिएर परिवारका अन्य सदस्यलाई बोलाउँदै ढोका फोडिदिए । भित्र जाँदा छोरा निर्मल मृत अवस्थामा भेटिए।

छोराले किन आत्माहत्या गर्यो भन्ने सुइँको परिवारले अहिलेसम्म् पाउन सकेका छैनन् । यद्यपि, शंकाको सुई भने निर्मलले केही समय अघिसम्म काम गर्दै आएको सनराइज सहकारी संस्थातिर तेर्सिएको छ ।

विगत ३/४ बर्ष अघि देखि नै उक्त सहकारीमा काम गर्दै आएका निर्मल पूर्व कर्मचारी हुन् । सहकारीमा समस्या देखिन थालेपछि उनले जागिर छाडेका थिए ।

भरतपुर महानगरपालिका–१२ मा मुख्य कार्यालय रहने गरेर ०६६ भदौ ११ मा यो सहकारी दर्ता भएको थियो । बर्दिया गुलरिया–५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरी भरतपुर महानगरपालिका–३ लायन्स चोकमा कार्यालय राखेर ०७४ देखि सञ्चालनमा रहेको यो संस्थाले अन्य दुई ठाउँ चनौली र विकास चोकमा पनि सेवा केन्द्र खोलेको थियो ।

बचतकर्ताहरूको रकम सहकारीले फिर्ता दिन नसकेपछि आन्दोलित भएका हरूले निर्मललाई पनि उत्तिकै तनाव दिने गरेको पारिवारिक स्रोत बताउँछ । उनकै नजिकका नातेदारहरूको समेत बचत रहेको कारण निर्मल आफैँ चिन्तामा थिए । सहकारीकै कारण निर्मलले आत्माहत्याको बाटो रोजेको हुन सक्ने शंका परिवारले गरेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजाल घटनाबारे अनुसन्धान भइरहेको बताए । मृतकको साथबाट आइफोन र एनरोइड मोबाइल फेला परेको छ सुसाइट नोट फेला परेन । प्रहरी प्रवक्ता रिजालले भने, ‘उक्त दुवै मोबाइल मृतकले नै चलाउँदै आएको भन्ने जानकारी परिवारले दिएका छन् । उक्त मोबाइललाई डिजिटल फरेन्सिक ल्याबमा पठाउँछौं । त्यसबाट पनि घटनाको बारेमा थप केही जानकारी आउला ।’ सबै खाले अनुसन्धान अगाडि बढ्दै जाँदा तथ्य खुल्ने उनले बताए ।

निर्मलका बुवा गौरीमानले प्रहरीसँग भनेका छन्, ‘अघिल्लो रातको ९ बजेतिर कोठामा चर्को स्वरमा फोनमा कुरा गरिरहेको थियो । हामीले राति राति पनि कोसँग झगडा गरेजस्तै चर्को स्वरमा कुरा गरेको भनेर हप्कायौँ ।’

निर्मलको शवको पोष्टमार्टम रिर्पोट पनि आत्माहत्या नै भएको आएको र परिवारले शवको दाहसंस्कारमा जुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया