युवाहरूलाई स्वदेशमै राख्‍न सके मात्र समृद्ध नेपाल बन्छः मन्त्री श्रेष्ठ

पालिका डायरी
२७ बैशाख २०८१, २०:३६

हटौंडा / बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले जब युवाहरूले मेरो देश, माटो र ठाउँ काे लागि हामी नेपालमै बसेर केही गर्नुपर्छ भन्‍ने प्रतिवद्ध बनाएर स्वदेशमै राख्‍न सके मात्र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताएका छन् । बिहीवार उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ –बागमती प्रदेश, लघु तथा घरेलु उद्योग समितिको समन्वयमा भएको ३ दिने साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।


मन्त्री श्रेष्ठले आगामी दिनहरूमा बागमती प्रदेश सरकारले यस्तो खाले कार्यक्रमलाई विषेश प्राथामिकतामा राखेर काम गर्ने तथा आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने बताएका छन् । युवाहरू बाध्य भएर आफूले सिकेका सीप तथा अध्ययन गरेका ज्ञानलाई स्वदेशमा प्रयोग नगरी विदेशमा प्रयोग गर्न बाध्य भएकाले सरकारले पनि ध्यान दिनुपर्ने देखिएको हुँदा बागमती प्रदेश सरकारले सूक्ष्म ढंगले अध्ययन गरेको र आगामी वर्षको कार्यक्रममा प्राथामिकतामा राख्ने बताएका छन् ।

आज बिहीबार बाट सुरु भएको ई–कमर्स सम्बन्धी तीन दिने तालिम बैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय– उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले डिजिटल समावेशिताकाे प्रवर्द्धन गर्ने लक्ष्यका साथ पहिलो पटक साना तथा लघु उद्यमी समुदायको डिजिटल पहुँच वृद्धि गरी डिजिटल अर्थव्यवस्थामा सहभागी बनाउने उद्देश्यले आयोजना गरिएको हो  ।


ठूला उद्योग र ठूला उद्यमीहरूले डिजिटल पहुँचमा आफैले लगानी गर्न सक्ने अवस्था भएता पनि साना तथा लघु उद्यमीहरुको डिजिटल पहुँच न्यून रहेको छ । त्यसैलाई ध्यानमा राखेर प्रदेश मन्त्रालय र निर्देशनालयले डिजिटल समावेशिताको माध्यमबाट साना तथा लघु उद्यमीहरुका साथै सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुलाई समेत सूचनाप्रविधि, प्रक्रिया र अवसरहरूमा समावेश गराउन खोजेको हो । 


तालिम पश्चात साना तथा लघु उद्यमीहरूले आफ्ना वस्तु तथा सेवालाई कसरी डिजिटल प्लेटफर्ममा समावेश गर्ने, कुन प्लेटफर्म उपयुक्त हुन्छ, स्वदेश तथा विदेशमा समेत कसरी बजार खोज्ने, नेटवर्किङ, डिजिटल पेमेन्ट, साइबर सुरक्षा लगायतका विषयहरूमा ज्ञान र सीप हासिल गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ । 


तालिममा १३ जिल्लाका २८ वटा जिल्ला/ नगर उद्योग वाणिज्य संघ, १३ वटा जिल्लाका घरेलु तथा साना उद्योग महासंघ, निर्देशनालय मातहतका ७ वटा उद्योग वाणिज्य कार्यालय र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु गरी करिव एक सय जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया