किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

पालिका डायरी
२० बैशाख २०८१, २०:०६

हेटौंडा /  गैर सरकारी संस्था महासंघ मकवानपुर शाखाको आयोजनामा किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा भएको कार्यक्रममा ११ नम्बर वडामा रहेका २३ वटा टोल विकास संस्थाका प्रतिनिधि किशोरीहरु अभिमुखीकरण गराइएको हो ।

गैसस महासंघ मकवानपुर शाखाकी अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । गैसस महासंघ मकवानपुर शाखाले हेटौंडा ११ नम्बर वडा कार्यालयको समन्वयमा किशोरी यौन तथा प्रजजन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले बताइन् ।
किशोरी अवस्थामा प्रवेश गर्ने उमेरमा उत्पन्न हुने जिज्ञासा, कौतुहुल्ता, समस्या तथा चुनौतीको बिषयमा शिक्षा प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सापकोटाको भनाई थियो ।

कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा ११ की वडाध्यक्ष जुना दाहालले किशोरीहरुलाई शारीरिक परिवर्तनको अवस्थामा संयमित भएर सामना गर्न सुझाव दिइन् । गैर सरकारी संस्था मकवानपुर शाखाको आयोजनामा किशोरीहरुलाई कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष दाहालले यस्तो सुझाव दिएकी हुन् । विकास निर्माणमा मात्रै खर्च गर्ने बानी परेको स्थानीय सरकारले भविष्यको कर्णाधारमा पनि लगानी गर्नुपर्छ भन्ने उदेश्यले कार्यक्रमको समन्वय वडा कार्यालयले गरेको उनले बताइन् ।

यस्तै, कार्यक्रममा मन्तव्य राख्दै गैर सरकारी संस्था बागमती प्रदेशका सदस्य राम चन्द्र न्यौपानेले ११ नम्बर वडामा विकृती फैलिएको बताए । किशोर किशोरी अवस्थामा यस्ता विकृतीले मानसिक असर गर्ने भन्दै उनले यस्ता विकृतीबाट बच्न आग्रह गरे । किशोर अवस्थामा साथीभाईको लहलहैमा लागेर कुलतमा फस्ने देखि गलत आचरण समेत सिक्न सकिने न्यौपानेले बताए । यस्तो विकृतीबाट किशोरीहरु टाढा रहनुपर्ने उनको भनाइ थियो ।

११ नम्बर टोल विकास वडा समन्वय समितिका अध्यक्ष यज्ञ बहादुर अर्यालले वडामा सञ्चालनमा हुने यस्ता गतिविधिले किशोरीहरुको आचरणमा परिवर्तन आउने बताएका थिए । किशोरी अवस्थामा भोग्नुपर्ने शारीरिक चुनौतीका बारेमा दिइएको शिक्षाले उनीहरुको मनोबल बढ्ने बताएका हुन् ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीप कुमार श्रेष्ठले ११ नम्बर वडामा रहेका किशोरीहरुले सामुदायिक प्रहरी छन् भनेर जानकारी पाउने अवसर पाएको बताएका थिए । कार्यक्रममा हेटौंडा ११ नम्बर वडाका २३ वटा टोल विकास समितिका ५० जना भन्दा बढी किशोरीहरु सहभागी भएका थिए । कार्यक्रममा उपस्थित किशोरीहरुलाई परिवार नियोजन संघकी सिर्जना रिमालले प्रशिक्षण दिएकी थिइन् भने कार्यक्रमको सहजीकरण गैसस महासंघ मकवानपुरका सह सचिव गोकर्ण तिवारीले गरेका थिए ।

 

 

प्रतिक्रिया