यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हितमा बजेट छुट्याउने स्थानीय सरकारको प्रतिवद्दता

पालिका डायरी
१८ बैशाख २०८१, १९:०८

हेटौंडा / यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि स्थानीय सरकारले आगामी आर्थिक बर्षमा नीति तथा कार्यक्रम बनाएर लैजाने बताएका छन् । मंगलबार निल हिरा समाज आयोजनामा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा उपस्थित स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायका व्यक्तिहरुले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । उनीहरुले आगामी आर्थिक बर्षमा यस समुदायको हितमा खर्चिने गरि बजेट विनियोजन गर्ने बताएका हुन् ।
कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि स्थानीय सरकार र सरोकारवाला निकायले निर्वाह गर्नुपर्ने दायित्वको बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा निल हिरा समाजका प्रोग्राम डाईरेक्टर संजय शर्माले यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायको परिचयको बारेमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । यस समुदायको समस्या र चुनौतीको बारेमा समेत उनले प्रकाश पारेका थिए ।

यस्तै, मानव अधिकार आयोग बागमती प्रदेशकी निमित्ति प्रमुख रेवा रेग्मीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको न्यायका लागि मानव अधिकार आयोगले विभिन्न कामहरु गर्दै आएको बताइन् । यस समुदायको समस्या पहिचान गर्दै अधिकार प्राप्तीका लागि आयोगले अझै विभिन्न योजनाहरु नै बनाएर अघि बढ्ने बताइन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिनाले स्थानीय तहहरुले आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दा यौनिक लैंगिक तथा अल्पसंख्यकको लागि समेत नीति तथा कार्यक्रम बनाएर बजेट विनियोजन गर्न पर्ने बताए। हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको कामको विवरण सहितको प्रस्तुतीकरणमा महाशाखा प्रमुख तिमल्सिनाले यस समुदायको बारेमा पनि स्थानीय तहहरुले नीति तथा कार्यक्रममा समायोजन गरिनुपर्ने बताएका हुन् ।

यस्तै, कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मनकुमारी पाख्रिनले आगामी आर्थिक बर्षमा लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायका लागि आवश्यक वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाइन् । चालु आ. व मा आफ्ना गाउँपालिकामा यस समुदायका व्यक्तिहरु हुनुहुन्छ भन्ने थाहा नभएर अलमलतामै राखेको बजेटको बिषय नै काटिएको भन्दै त्यसलाई आगमी आ.व मा निरन्तरता दिइने उनले बताएकी हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैसस बागमती प्रदेशकी अध्यक्ष आरती पाठक, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर मिजार लगाएतको उपस्थिती रहेको थियो । फ्रेण्ड्स हेटौंडाका अध्यक्ष भारती थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने कार्यक्रमको सहजीकरण फ्रेण्ड्स हेटौंडाका कार्यक्रम संयोजक किरण थापाले गरेकी हुन् ।
सेफ द चिल्ड्रेन को सहयोग तथा निल हिरा समाजको आयोजना तथा फ्रेण्ड्स हेटौंडाको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया