बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै, विभिन्न विषयमा बहस हुने

पालिका डायरी
१८ बैशाख २०८१

बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन गर्ने तयारी गरेको हो ।

सामाजिक विकास मन्त्रालय हेटौँडामा केही दिन अघि बसेको ११ औँ बोर्ड बैठकले गरेको निर्णय अनुसार ३ दिने युवा सम्मेलन आयोजना गर्न थालिएको हो । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

उपाध्यक्ष चौलागाईका अनुसार परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेसँगै प्रदेशमा युवाका क्षेत्रमा काम गर्न सहजता मिलेको थियो । युवाहरूको आवश्यकता, माग, उद्यमशीलता लगायतका विषयमा काम गर्न नीतिगत रूपमा सहजता मिलेको उनले बताए ।

सोही नीति अनुसार परिषद्ले युवा सम्मेलनको तयारी गरेको चौलागाईको भनाइ छ । युवा सम्मेलन क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने उनले विश्वास व्यक्त गरे । युवा पुस्तामा चरम निराशाका बिच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उनले बताए ।

सम्मेलनमा सहभागीहरूको आवास र खानाका लागि २० लाख रुपैयाँ खर्च हुने चौलागाई बताउँछन् । अन्य सम्पूर्ण काम स्वयंसेवक मार्फत गरिने उनले बताए । कार्यक्रममा सहभागी हुने वक्ता तथा सहजकर्ताको सेवा सुविधामा रकम खर्च नगरिने उनको भनाइ छ ।

प्रतिक्रिया