विपन्न बचत तथा ऋण सहकारी संस्थाद्वारा विद्यार्थीहरूलाई आधारभुत कम्प्युटर तालिम
हेटौंडा / विपन्न बचत तथा ऋण सहकारी संस्था लि. ले विद्यार्थीहरूलाई आधारभुत कम्प्युटर तालिम शुरु गरेको छ ।
हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा स्थित सिमलटारको विपन्न बचत तथा ऋण सहकारी संस्था लि हेटौंडाले सिमलटारका ११ , १२ र ब्याचलर पढ्दै गरेका विद्यार्थीहरूलाई कम्प्युटर सम्बन्धी आधारभुत तालिम दिन शुरु गरेको छ ।
तालीम चिनीमाया प्रतिष्ठानको सहयोगमा सञ्चालन गरिएको प्रतिष्ठान मकवानपुरका जिल्ला अध्यक्ष तथा विपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष कमलचन्द्र सुमनले जानकारी दिए । सुमनको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले तालिमको महत्व बारे बोल्दै प्रशिक्षार्थीहरूलाई दक्ष बन्न आग्रह गरिन् । कार्यक्रममा त्रिभुवन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण बस्नेत , आयोजक संस्थाका सहसचिव पिमिसरा दर्लामी मगर , कोषाध्यक्ष लक्ष्मी भण्डारी , तालीम प्रशिक्षक सुदीप भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।
तालिमको लागि हेटौंडाका व्यवसायी तथा सामाजिक व्यक्तित्व ज्योतिरत्न बज्राचार्य , माभेन कन्सल्टेन्सी , नमस्कार साप्ताहिक , विपन्न बचत तथा ऋण सहकारी संस्था ले कम्प्युटर सहयोग गरेको हाे । तालिममा २० जना प्रशिक्षार्थी रहेको जनाइएको छ ।