सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते

पालिका डायरी
७ बैशाख २०८१
बागमती प्रदेशका दश जिल्लामा एक वर्षमा सवारी दुर्घटनामा २९९ जनाको मृत्यु File photo

सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए ।

‘दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ धारावतीमा तर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज (शुक्रबार) बिहान धारावतीमा दुर्घटनामा परेको हो,’ डीएसपी भट्टराईले भने, ‘तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते छन् । त्यसमध्ये सात जनाको अवस्था गम्भीर छ ।’

शुक्रबार बिहान साढे सात बजे बस दुर्घटनामा परेको हो । उनले मृतक र घाइते कसैको पनि नाम नखुलेको बताए । बस सडकबाट तल खसेको छ। ‘अहिले घटनास्थलमा उद्धारको काम चल्दैछ,’ डीएसपी भट्टराईले भने, ‘गम्भीर अवस्थाका सात जना घाइतेलाई थप उपचारको लागि बाह्रबिसेतिर ल्याइँदैछ। बाँकी ४५ यात्रुलाई उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।’

बसमा ५५ जना सवार रहेको अनुमान प्रहरीले गरेको छ । ‘बस मुनी कोही च्यापिएका छन् कि भनेर बस पल्टाएर हेर्ने काम हुँदैछ,’ उनले भने । बेहुला बेहुली सोही बसमा थिए कि थिएनन् भन्ने पनि नखुलेको उनले बताए । ‘बेहुला बेहुली, मृतक, घाइते कसैको नाम खुलेको छैन । हामी थप बुझ्दै छौँ,’ उनले भने ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

प्रतिक्रिया