बागमतीमा एमालेका ४ मन्त्री बन्दै, शपथ आजै हुने

पालिका डायरी
२० चैत्र २०८०
बागमतीमा एमालेका ४ मन्त्री बन्दै, शपथ आजै हुने

बागमती प्रदेशमा आज नेकपा एमालेबाट चारजन मन्त्री नियुक्त हुँदैछन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

उनले आजै दिउँसो ३ बजे एमालेका चारमन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन् । प्रदेश सरकारमा एमालेका तीनजना पूर्वमन्त्रीहरु नै दोहोरिन लागेका र एकजना नयाँ अनुहारले प्रवेव पाउने एमाले स्रोतले जनाएको छ ।

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा एमालेले यसअघि मन्त्री बनेकाहरुलाई नै दोहोर्याउन लागेको हो । २६ पुस २०७९ मा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका जगन्नथा थपलिया आइतबार पुनः अर्थ मन्त्रालयमै फर्किएका छन्। एमालेको भागमा पाउने बाँकी मन्त्रालयमा पनि पुरानै अनुहारलाई प्राथमिकता दिने सहमती भएको थियो ।

तत्कालिन ११ मन्त्रालय रहेको बागमतीमा त्यसबेला एमालेका ४ जना मन्त्री बनेका थिए । अर्थमा थपलिया सहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए। थपलिया पुस २६ गते अर्थ मन्त्रीमा नियुक्त भएका थिए । बाँकी तीन मन्त्रीहरु माघ ११ गते नियुक्त भएका थिए ।

माघमा नियुक्त भएका मन्त्रीहरुले केन्द्रीय सत्ता समीकरण फेरबदलसँगै १० चैत २०७९ मा सरकारबाट बाहिरिएका थिए। दुई महिनामै सरकार छोड्नु पर्दा केही काम गर्न नपाएको भन्दै पुरानै अनुहारलाई दोहोर्याउने पार्टीको निर्णय भएको नेकपा एमाले बागमतीका सचेतक मधुसूदन पौडेलले बताए ।

थपिने अनुहारमा काठमाण्डौँ निर्वाचन क्षेत्र नम्बर ७ (ख) बाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ रहेका छन् । हाम्रो नेपाली पार्टीका संसदीय नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर सरकारको संकट टार्नका लागि ठूलो भूमीका खेलेको भन्दै उनलाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतको दाबी छ।

प्रतिक्रिया