बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए संसद्को विश्वास

पालिका डायरी
१९ चैत्र २०८०, १९:१४
मुख्यमन्त्री जम्कट्टेलको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । जम्मा १०८ जना सांसद उपिस्थत रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले ५६ मत पाए ।

विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका छन् । बागमती प्रदेश सभामा ११० सांसद छन् । सोमबार दिउँसो डाकिएको प्रदेशसभाको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिए ।

मुख्यमन्त्री जम्कट्टेले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेको २७, मओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको १ गरी ५६ मत प्राप्त गरेका हुन् । विपक्षमा नेपाली कांग्रेसकाे ३७ मत परेको हो भने राप्रपाका १२ र नेमकिपाका ३ गरी १५ सांसद तटस्थ बसेका हुन् । विश्वासको मत दिने कार्यक्रममा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीका एक सांसद उपस्थित भएनन् ।

मुख्यमन्त्री कट्टेलले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्नेबारे राखेको प्रस्तावमाथि सबै दलले धारणा राखेपछि सभामुख भुवन पाठकले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावको पक्षमा बहुमत आएको हो ।

यसअघि उनले पहिलो पटक ३ माघ २०७९ मा १०५ सांसदले समर्थन गरेर विश्वासको मत पाएका थिए। सात राजनीतिक दल हरेको बागमतीमा उतीबेला प्रमुख प्रतिपक्ष दल कांग्रेस सहित ६ दलले विश्वासको मत दिएका थिए ।

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा बनेको माओवादी, एमाले, राप्रपा लगाएत दलहरु मिलेर बनेको गठबन्धन सरकार दुई महिना पनि टिकेन । केन्द्रमा एमाले सरकारबाट बाहिरिएर कांग्रेस, नेकपा एस लगाएत दलले सरकारमा इन्ट्री पाए । त्यसपछि पुनः दोस्रो पटक १० चैत २०७९ मा ६७ सांसदको समर्थनमा विश्वासको मत पाएका थिए।

तेस्रो पटक भने मुख्यमन्त्रीलाई विश्वासको मत जुटाउन निकै सकस बेहोर्नुपर्यो । सत्तागठबन्धन दलहरुको स्पष्ट बहुमत नहुँदा बागमती प्रदेशमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टीको सहयोगमा सरकार जोगाउन सफल भए ।

सत्ता जोगाउन हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई यसअघि नै सरकारमा सहभागी गराइसकेका थिए।

प्रतिक्रिया