एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत देला कि नदेला?

पालिका डायरी
१९ चैत्र २०८०, १२:४७
बागमती प्रदेशसभाको बैठक बस्दै

नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने कि नदिने भन्ने बिषयमा केन्द्रको निर्णय कुरिरहेको छ।

एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्ण प्रसाद खनालले हाल बालुवाटारमा शीर्ष तहका नेताहरु बैठक बसिरहेको र आफूहरु सोही बैठकको निर्णय कुरिरहेका बताए।

‘हाम्रो पार्टीको हिजो (आइतबार) को निर्णय अनुसार नाटकीय परिवर्तन नभए मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा छ,’ खनालले भने, ‘तर केन्द्रले के निर्णय गर्छ, त्यो हेर्न बाँकी छ। हाम्रो दलको एउटै माग कुनै एक प्रदेशको नेतृत्व हामीले पाउनुपर्छ भन्ने हो।’

नेता खनालका अनुसार मधेस प्रदेशमा जसपाले नछोड्ने निश्चित भएपछि बागमतीमा दाबी बढाइरहेको हो।  बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज प्रदेश सभा बैठकबाट विश्वासको मत लिँदैछन्। गत २३ फागुनमा प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। माओवादी नेतृत्वको सरकार अल्पमतमा परेपछि उनले आज सदनबाट विश्वासको मत लिन लागेका हुन्।

केन्द्रीय सत्ता समीकरण अनुसार बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीन दल छन्। त्यसबाहेक हाम्रो नेपाली पार्टी पनि प्रदेश सरकारमा सहभागी भएको छ।

हाम्रो नेपाली पार्टीको प्रदेश सभामा २ सिट छ। एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीको ७ र हानेपाको २ गरी प्रदेशसभामा ५७ सांसद हुन्छन्।

बागमती सरकारलाई ५६ सांसदको समर्थन आवश्यक हुन्छ। ७ राजनीतिक दल रहेको बागमतीमा सबैभन्दा ठूलो कांग्रेसको ३७, राप्रपाको १३ (सभामुख सहित) र नेमकिपाको ३ सिट छ।

प्रतिक्रिया