बागमतीमा मुख्यमन्त्रीको दाबी गर्न हानेपाले फिर्ता लियो समर्थन

पालिका डायरी
१३ चैत्र २०८०, १४:५८
बागमतीमा २ सिटको हानेपाले माग्यो मुख्यमन्त्री

हाम्रो नेपाली पार्टी (हानेपा) ले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले जानकारी दिए । बागमती प्रदेश सरकार गठनका लागि निर्णायक भूमिकामा देखिएको हानेपाले बागमतीमा बार्गेनिङ बढाएको छ।

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएदेखि नै माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको हानेपाले अप्ठेरो परिस्थितीमा थप बार्गेनिङ गरेको हो। १४ महिनादेखि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको हानेपाले गठबन्धन परिवर्तन भएसँगै मुख्यमन्त्रीकै दाबी गरेको छ ।

उसले मुख्यमन्त्रीको दाबी बलियो पार्नका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यद्यपी आफूहरु सत्ता पक्षमा बस्न नचाहेको कारण समर्थन फिर्ता लिएर प्रतिपक्षी दलको भूमिकामा रहन चाहेको दलका नेता बज्रचार्यको दाबी छ ।

सत्तामा रहे पनि सरकारले हानेपालाई कहिल्यै महत्त्व नदिएको भन्दै प्रतिपक्षमा बस्नका लागि समर्थन फिर्ता लिएको उनले बताए । ‘सत्तामा भए पनि हानेपालाई कहिल्यै अन्य दललाई जस्तो समान व्यवहार गरिएन’ उनले भने, ‘त्यसैले अब प्रतिपक्षमा बस्ने हो ।’

बागमती प्रदेश सभामा हानेपाको दुई सिट छ। गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया
sailendra