कांग्रेस नेतृत्वमा बागमती प्रदेश सरकार गठन गर्ने यस्तो छ रणनीति

हेटौंडा / राजनीतिमा आएको नयाँ उथलपुथलले केन्द्रमा गठबन्धन फेरिएसँगै बागमती प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने बहस पेचिलो बन्दै गएको छ । केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रोपटक विश्वासको मत पाए पनि बागमतीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने विषय टुंगो नलाग्दा अन्योल छ ।
यो सँगै बागमतीमा नयाँ सरकार गठन गर्ने प्रक्रिया पनि लम्बिँदै गएको छ । सत्ता समीकरण फेरबदल भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच मुख्यमन्त्रीका लागि हानथाप जस्तै भैरहेका बेला कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने रणनीति तयार पारिरहेको छ ।
बागमती प्रदेश सभाको ठुलो दलको हैसियतमा रहेको कांग्रेसको ३७ सिट छ । ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभामा कुल ११० सांसद छन्। सरकार गठनका लागि यहाँ ५६ सिटको आवश्यकता पर्छ । कुनै पनि दलको बहुमत नपुग्ने अवस्थामा रहेको बागमतीमा केन्द्रीय सत्ता गठबन्धन अनुसारको सरकार गठन हुने नदिने रणनीतिमा कांग्रेस जुटिरहेको छ ।
२५ पुस २०७९ मा बनेको एमाले, माओवादी र राप्रपाको गठबन्धनमा मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेललाई पहिलो विश्वासको मतका लागि हाम्रो नेपाली पार्टी (हानेपा) ले सघाएको थियो। ३ माघ २०७९ मा सदनबाट १०५ सांसदले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएका थिए । उतीबेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले समेत विश्वासको मत दिएको थियो भने नेपाल मजदुर किसान पार्टीले मात्रै विश्वासको मत दिएन ।
त्यसको तीन महिना पछि अर्थात एमाले, राप्रपा सरकारबाट बाहिरिएर कांग्रेसले सरकारमा इन्ट्री पाएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिनुपर्ने स्थिती सिर्जना भयो । चैत १० गते बसेको प्रदेश सभा बैठकबाट उनले ६७ सांसदको सर्मथन पाउँदै मुख्यमन्त्रीमा निरन्तरता पाए। दुवै समयमा कांग्रेस र हानेपा दुवैले विश्वासको मत दिएका थिए ।
त्यसोत, बागमतीको नेतृत्व कुन दलले पाउँछ भन्नेमा केन्द्रले कुनै टुंगो लगाएको छैन । तर जुन दलको सरकार बने पनि विश्वासको मत पुर्याउन नदिनेमा कांग्रेस जुटिरहेको हो । प्रदेश सभाको ठुलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार गठन हुनेमा कुनै द्धुविधा नरहेको कांग्रेस सांसद बताउँछन् । ‘कोशी बने जसरी नै कांग्रेस नेतृत्वको सरकार बागमतीमा पनि बन्छ । हामी सोही दिनको प्रतिक्षामा छौं । माओवादी, एमाले अथवा एकीकृत समाजवादी जसको मुख्यमन्त्री बनाए पनि बहुमत पुर्याउन सक्ने हुर्मत छैन,’ ती सांसदले भने ।
हानेपालाई कांग्रेसको टेको
यता, बागमती प्रदेश सभामा दुई सिट मात्रै रहेको हानेपाले प्रदेश सरकारकै नेतृत्वमा बार्गेनिङ बढायो । सत्तारुढ दलहरुको मात्रै अंकगणित नपुग्ने देखिएपछि त्यसको फाइदा उठाउने खेलमा लागेको हानेपाले कांग्रेसको टेको पाइरहेको कांग्रेसकै सांसदहरुको दाबी छ ।
हानेपाको बिषयमा प्रदेशका नेताहरुमात्रै होइन केन्द्रीय तहका शीर्ष नेताहरु पनि उत्तिकै लागिपरेका छन् । हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यका अनुसार यो बीचमा उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगाएतका नेताहरुले उनीसँग छलफल गरिसकेका छन् ।
‘प्रधानमन्त्री ज्यू र एमाले अध्यक्ष ओली बा ले मिलेर सरकार सहभागी होउ भन्नुभयो,’ उनले भने, ‘गगन थापा ज्यू ले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ। सोही बेला मुख्यमन्त्री बनौंला भन्नुभएको थियो । हामी पार्टीमा छलफल गरेपछि मात्रै निर्णय दिन्छौं भनेर केही बोलेका थिएनौं । अब नेतृत्व पाए सरकारमा जान्छौं, नपाए प्रतिपक्षमा बस्छौं ।’
यता, हानेपालाई कांग्रेसले फकाएर नै यस्तो निर्णय लिन लगाएको कांग्रेसकै सांसदको दाबी छ । ‘हानेपा यसै गठबन्धनको सरकारमा जान चाहान्थ्यो भने दुईवटा मन्त्रालय लिएर जान सक्थ्यो । तर हाम्रो छुट्टै रणनीतिका कारण अहिले न हानेपाले सहयोग गर्छ, न त अन्य दलले सहयोग गर्छन्। यो गठबन्धनले बागमती सरकार गठन सम्भव हुँदैन,’ कांग्रेस सांसदले भने ।
यस्तो कांग्रेसको रणनीति
एमाले, माओवादी र एकीकृत समाजवादी नेतृत्वको सरकारले सदनबाट विश्वासको मत प्राप्त नभए मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा कांग्रेस नेतृत्वको सरकार गठन गर्ने रणनीतिमा कांग्रेस जुटेको छ । गत फागुन २९ गते दिउँसो कांग्रेस बागमती संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलका कार्यवाहक नेता रामकृष्ण चित्रकारले पहिला यो सरकारले विश्वासको मत लिने बेलासम्म कुर्ने र विश्वासको मत नपाएको खण्डमा कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका थिए ।
तीनदलको बहुमत नपुग्ने, प्रमुख प्रतिपक्षी दलको हैसियतले पनि अन्य दलको सहयोगको स्थिती बनाउन नदिने खेलमा आफूहरु जुटिसकेको उनले बताएका थिए । सोही अनुरुप कुनै पद वा स्वार्थ बिना नै माओवादी नेतृत्वको सरकारलाई सर्थन गर्दै आएको हानेपाले हात झिक्ने स्थितीको सिर्जना भएको छ ।
त्यसोत, प्रदेश सभाको ठुलो दल भए पनि कांग्रेस सँग पनि सरकार गठनका लागि बहुमत प्रर्याप्त छैन। ३७ सिट रहेको कांग्रेसले बाँकी १९ सिटको जोहो गर्नुपर्ने हुन्छ। संविधानको धारा १६८ को उपधारा ३ मा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ। बागमती प्रदेशसभाको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस भएका कारण पुनः सरकारमा जान कांग्रेसले प्रयास थालेको हो। यद्यपि यसभन्दा अघि हालको गठबन्धनबाटै बनेको सरकारले बहुमत प्राप्त गरे कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिका रहने छ ।
यस्तो छ अंकगणित
सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कांग्रेसका ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १२, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हानेपाको २ सिट छ ।
केन्द्रीय सत्ता समीकरण अनुसार बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीन दलको प्रतिनिधित्व छ । ११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि बुहमत पुर्याउन ५६ सांसदको आवश्यक पर्छ । यहाँ, एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट गरी ५५ सिट हुन्छ । सरकारलाई बहुमत पुर्याउन १ सिट अन्य दलबाट ल्याउनपर्ने बाध्यता छ।