नेतृत्व छाड्नुपर्ने त्रासमा माओवादी, पाउने आसमा एमाले र समाजवादी

पालिका डायरी
२५ फाल्गुन २०८०, १२:३८
नेतृत्व छाड्नुपर्ने त्रासमा माओवादी, पाउने आसमा एमाले र समाजवादी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल अल्पमतमा परेका छन् । नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि माओवादीका मुख्यमन्त्री जम्मकट्टेल अल्पमतमा परेका हुन् ।

केन्द्रकमा नयाँ सत्ता समीकरण निर्माण भएसँगै अब बागमती प्रदेशमा पनि कांग्रेस आउट भएर नेकपा एमालेले इन्ट्री पाउने भएको छ । एमाले सरकारमा सहभागी भएसँगै प्रदेश सरकारको नेतृत्व गर्ने लविङमा जुटिरहेको छ। केन्द्रमा समीकरण फेरबदल भएसँगै बागमती प्रदेशको नेतृत्व कुन दलले पाउला भन्ने चर्चाको चलिरहेको छ ।

बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएपछि २५ पुस २०७९ मा एमालेको समर्थनमै मुख्यमन्त्री बनेका जम्मकट्टेललाई एमालेसँगै मुख्यमन्त्री पद जोगाउन कठिन देखिन्छ। हुनत केन्द्रले प्रदेश नेतृत्वको हकमा कुनै निर्णय लिइसकेको छैन। यद्यपी, एमालेले बागमतीको नेतृत्व पाउनुपर्ने एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बताउँछन्।

मुख्यमन्त्रीको दाबेदार स्वभाविक भएको बताउँदै उनले भने, ‘यसै कार्यकालको सुरुवाती चरणमा हामीले माओवादीको नेतृत्वमा सरकार बनायौं। केन्द्रको राजनीतिक हलचलका कारण एमाले र राप्रपा सरकारबाट बाहिरिनुपर्ने स्थिती आइपर्यो। तर पनि दोस्रो पटकको विश्वासको मत उहाँलाई हामीले पनि दियौं। तर अब केन्द्रदेखि नै समीकरणमा बदलाब आएको समयमा अब एमाले नेतृत्वमा बागमती सरकार बन्नुपर्छ भन्ने हो।’

तथापी, आफूहरु केन्द्रको निर्णय कुरिरहेको र केन्द्रले पनि परिवर्तन गर्ने नीति बनाउने आफूहरुको विश्वास रहेको नेता थपलियाले बताए । यसअघि मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकारमा एमालेले ४ मन्त्रालय सम्हालेको थियो ।

यता, मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पनि आफ्नो पद रहने नरहने धरमरमा देखिएका छन्। केन्द्रको नयाँ सत्ता समीकरणले प्रदेशको नेतृत्वमा समेत फेरबदल हो कि ? भन्ने त्रासमा मुख्यमन्त्री जम्मकट्टेल स्वयम् देखिएका छन् ।

बुधबार कांग्रेसका मन्त्रीहरुको राजीनामा पत्र बुझ्दै गर्दा मुख्यमन्त्री जम्मकट्टेलले ठट्यौली पारामा मैले पनि यसैगरी राजीनामा बुझाउन पर्ने दिन आउने हो, भन्दै हाँसेका थिए। उनको यो भनाईले पनि मुख्यमन्त्रीमा आफैंले निरन्तरता पाउँछु कि पाउँदिन भन्नेमा धरमर भैरहेको प्रष्ट हुन्छ ।

त्यसोत, केन्द्रको निर्देशन हालसम्म प्राप्त नभएको र यदी फेरबदलकै निर्देशन आए पनि माओवादीले सहर्ष स्वीकार गर्ने माओवादी संसदीय दलका नेता समेत रहेका जम्मकट्टेलले बताए ।

‘नेतृत्व जसको भए पनि गठबन्धनमा स्वीकार गर्नुको विकल्प छैन, उनले भने, ‘त्यसकारण अहिलेको स्थितीमा हामी केन्द्रको निर्णय कुरिरहेका छौं ।’

नयाँ सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि बागमतीको मुख्यमन्त्रीको दाबी बढाइरहेको छ । केन्द्रको सहकार्य अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने सहमतिपछि मात्रै गठबन्धनमा सामेल भएको चर्चा छ । जसका कारण पनि बागमतीको मुख्यमन्त्रीमा फेरबदल भए नेकपा एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्णप्रसाद खनालको पोल्टामा पर्ने सम्भावना बलियो रहेको नेताहरू बताउँछन् ।

केन्द्रको सहमति अनुसार आफ्नो पार्टीको दाबी मुख्यमन्त्रीमै रहने खनालको भनाइ छ। केन्द्रबाट यस्तो निर्णय आउनेमा आफू लगभग ढुक्क जस्तै रहेको भन्दै खनालले पनि केन्द्रकै निर्देशन कुरिरहेको बताउँछन्।

बागमती सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। ७ राजनीतिक दल रहेको बागमतीमा केन्द्रको गठबन्धन अनुसार सत्तामा एमाले, माओवादी र एकीकृत समाजवादी छन् । प्रदेश सभाको दोस्रो ठूलो दल एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट छ । जुन सरकार गठनका लागि पुग्ने स्थिती बन्दैन। तीन दलको संख्या ५५ मात्रै छ ।

बागमतीमा नयाँ गठबन्धनको सरकार गठनका लागि दुई सिट मात्रै रहेको हाम्रो नेपाली पार्टी (हानेपा) निर्णायक भूमिकामा रहेको छ । राप्रपालाई केन्द्र गठबन्धनले नै बाइपास गरेको अवस्थामा प्रदेशमा पनि विश्वासको मत दिने देखिँदैन ।

तीन सिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले साथ दिए पनि सरकार गठनका लागि बहुमत पुग्छ । तर नेमकिपा सरकार गठनको खेलमा लाग्न नचाहेको नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँ बताउँछन् ।

प्रतिक्रिया