छैठौं बागमती गोल्डकपको खेल तालिका सार्वजनिक

पालिका डायरी
२८ माघ २०८०, १८:४५

हेटौंडा / फागुन १ गतेदेखि हुने छैठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्वजनिक भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले खेल तालिका सार्वजनिक गरेको हो । बागमती गाउँपालिका ८ स्थित जनता माविको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लबबीच हुनेछ ।

फागुन १० गते सम्म हुने प्रतियोगितामा आयोजक बागमती खेलकुद विकास समिति सहित दुईवटा विभागीय टिम, ५ वटा ‘ए’ डिभिजन क्लब, र २ वटा मोफसलको टिम रहेको गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । गत संस्करणमा ए डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि जितेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र हरेक खेलको म्यान अफ दी म्याचलाई समेत नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, गाउँपालिकाका ४ नं. वडा अध्यक्ष दन्तलाल माझी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया