एमालेको आरोप : बागमती प्रदेश सरकारले राज्यकोषको दुरुपयोग गर्‍यो

पालिका डायरी
२५ माघ २०८०, २१:२२
एमालेको आरोप : बागमती प्रदेश सरकारले राज्यकोषको दुरुपयोग गर्‍यो

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारले स्वेच्छाचारी ढंगबाट राज्यकोषको दुरुपयोग गरेको बताएका छन्।

चालु आर्थिक वर्षको बजेट किताबमा उल्लेख नै नगरेको रकम सरकारले अपचलन गर्न खोजिरहेको थपलियाले आरोप लगाएका हुन्। बिहीबार नेकपा एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले प्रदेश सरकारले सिमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनाहरूमा बजेट विनियोजन गरिरहेको उनको आरोप छ।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले ७५ प्रतिशत रकम दिने विषय बजेट किताबमा उल्लेख नरहे उनले बताए। ‘प्रदेश सरकारले त्यतिका रकम व्यहोर्न पर्ने के आइपर्यो? किताबमा उल्लेख नै नभएको बजेट एकैठाउँमा खन्याउन पाइन्छ?’, उनले भने। नेता थपलियाले सरकार एकलौटी ढंगबाट अगाडि बढेको बताएका छन्।

‘ऐन निर्माणमा मात्र हैन सरकार विकास निर्माणमा पनि असफल छ। आर्थिक बर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म ९ प्रतिशत भन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन। दूग्ध उत्पादकलाई दिँदै आएको अनुदान कटौती गर्दै सरकारले किसानप्रति देखाएको अनुदारवादी व्यवहार र किसानमारा क्रियाकलापले प्रदेशको कृषि क्षेत्रलाई गम्भीर असर गर्ने निश्चित छ।’

प्रदेश सरकारको दायित्व बढाउने काम गरिरहेकाले मन्त्रिपरिषद बैठकको निर्णयप्रति एमालेले संवेदनशील रुपमा लिएको उनले बताए।

 

प्रतिक्रिया