राष्ट्रिय सभा निर्वाचन : बागमतीको ४ सिटका लागि मतदान जारी

पालिका डायरी
११ माघ २०८०, १०:३७

हेटौंडा / राष्ट्रिय सभा सदस्य पदको १९ सिटका लागि आज सातवटै प्रदेशमा निर्वाचन हुँदैछ । जसमा बागमतीमा पनि ४ सिटका लागि मतदान सुरु भएको छ।

यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो । रावल महिला, राई अपांगता÷अल्पसंख्यक, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए । ती चार वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुन लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा रिक्त हुन लागेको ४ सिटका लागि हुन लागेको निर्वाचनमा १५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ६ राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने त्यस बाहेकका तीन दलको ११ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् ।
कांग्रेसका जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल सत्ता गठबन्धनदलका साझा उम्मेदवार हुन् । कांग्रेसका बस्नेत अन्य क्लस्टरका उम्मेदवार हुन् भने कांग्रेसकी पुडासैनी महिला, माओवादी केन्द्रका अधिकारी अपांगता÷अल्पसंख्यक र एकीकृत समाजवादीका रिजाल दलित क्लस्टरका उम्मेवार हुन् ।

यता, नेकपा एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले चुनावी मैदानमा उत्रिएका छन् । नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन्। दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्ण लक्ष्मी दुवाल पनि राष्ट्रिय सभा निर्वाचनको चुनावी मैदानमा छन् ।

यता, राप्रपाबाट ३ जनाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनयन दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया