बागमती सरकार आफ्नो जिम्मेवारी प्रति उत्तरदायी बन्न सकेन : पूर्व मन्त्री श्रेष्ठ

पालिका डायरी
६ माघ २०८०, २०:१७
बागमती सरकार आफ्नो जिम्मेवारी प्रति उत्तरदायी बन्न सकेन : पूर्व मन्त्री श्रेष्ठ

हेटौंडा / बागमती प्रदेशका पूर्व श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले बागमती प्रदेश सरकार आफ्नो जिम्मेवारी प्रति उत्तरदायी नबनेको बताएका छन् ।

शनिबार प्रेस चौतारी मकवानपुरको आयोजनामा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले प्रदेश सरकारले आफ्नो भूमिका र जिम्मेवारीबोध नगरेको बताएका हुन् । प्रदेशका १२ मन्त्रीहरुमध्ये कोही पनि हेटौंडामा नटिक्ने बताउँदै श्रेष्ठले भने, ‘प्रदेशका मन्त्रीहरुको ध्यान आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा मात्रै केन्द्रीत भएको छ । प्रदेशको राजधानी बसे पो प्रदेशबासीको हितमा ऐन कानुन बनाउने काम भए होलान् भन्न सकिन्थ्यो । तर उहाँहरुको ध्यान निर्वाचन क्षेत्रको जनता फकाउने बाहेक अरु छैन ।’

नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले एमालेले आफूहरु सरकारमा जानको लागि विरोध गरेको नभएर सरकारलाई सच्चिन आवश्यक रहेको औंल्याएको बताए । चालु आवको वजेट कार्यान्वयनका बिषयमा सरकारले प्रतिपक्षी दलसँग गरेको वाचा पूरा गर्न चासो नदेखाएर पन्छिन खोजेको आरोप लगाए ।

साथै २०८४ को आम निर्वाचनमा एमालेले बहुमतको एकल सरकार गरेरै छाड्ने बताउँदै उनले भने, ‘हाम्रो मिसन अहिलेको गठबन्धन भत्काएर एमाले सरकारमा सहभागी हुने होइन । आगामी निर्वाचनमा सबैक्षेत्रमा बहुमत ल्याउने लक्ष्यमा छौं । त्यो पूरा हुन्छ ।’

प्रतिक्रिया