चैतसम्म भैसे भिमफेदी सडक निर्माण सम्पन्न हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी हेटौंडा र काठमाडौं जोड्ने भैसे भिमफेदी सडकखण्ड अबको करिब ३ महिनाभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ । आज ११।५१ किलोमिटर लम्बाई रहेको उक्त सडकखण्डको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
डबल लेनको ११ दशमलव ५१ किलोमिटर लम्बाई रहेको सडकको अनुगमनको क्रममा उहाँले आफुले प्रदेश सरकारको कार्यभार सम्हाल्दै गर्दा उक्त सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको जानकारी दिनुभयो । २०७७ सालमा निर्माण सुरु गरिएको भीमफेदी सडक संघीय राजधानी र तराई जोड्ने मार्गको रुपमा रहेको छ ।
सडकको अनुगमन गर्दै बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युबराज दुलालले विगतमा मुआब्जाको समस्याले निर्माण कार्य ढिलो भएपनि स्थानीय जनतासँगको छलफल पश्चात ठेक्का लगाएकाले निर्माण कार्यले गति लिएको बताउनुभयो । भैसे भीमफेदी सडकको ८० प्रतिशत काम सकिएको बताउँदै अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सडक चौडा र टेवा पर्खाल, ड्ेन सहित करिव ९५ प्रतिशत काम सकिएको छ । हालसम्म २ किलोमिटर कालोपत्रे निर्माण पनि सम्पन्न भएको छ ।
त्यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताले आफ्नो गाउँ विकास गर्न सरकारलाई सहयोग गरेको कारण सडक निर्माण काम छिटो भएको बताउनुभयो ।
बागमती प्रदेश यातायात पूर्बाधार निर्देशनालयका ईञ्जिनियर हरीप्रसाद ओझाले अनुमानित लागत ६३ करोड ७० लाख ६५ हजार ४ सय ४७ रुपैंया ५ पैसा रहेकोमा ३८ करोड ७८ लाख ८ सय ९७ रुपैंयामा सम्झौता गराएर काम भईरहेको जानकारी दिनुभयो । उक्त सडकमा पर्ने पाँच पुल मध्ये ४ वटा निर्माणाधिन अवस्थामा रहेको छ भने एकवटा पुल निर्माण सम्पन्न भईसकेको ओझाले बताउनुभयो । २०७७ साल असार २४ गते ठेक्का लगाएको आयोजनाको दुई पटक म्याद थप थप भएकोमा अब काम अन्तिम चरणमा रहेको ओझाको भनाई छ ।
अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री यूवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान सहित आयोजनाका कर्मचारीहरु समेत रहेको थियो ।