१९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ४ आरोपी पक्राउ

काभ्रेको पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुधन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरको जंगलमा पाँच दिनअघि (२७ पुसको राति) स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो।
‘युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्ने सबै मजदुर हुन्,’ इन्सपेक्टर अकौलियाले भने, ‘विवाहित ती युवती पनि मजदुर नै हुन् । रसुवा माइती भएकी ती युवतीका पति घरमा छैनन् । उनीहरुले पुस २७ गते साँझ पाँचखाल नगरपालिका ७ शिखरपुरस्थित फुटबल ग्राउण्ड नजिकको झाडीमा लगेर युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।’
प्रहरीका अनुसार ती युवती साँझ साथीहरुसँगै ‘इभिनिङ वाक’मा घरबाहिर निस्केको बेला बलात्कारमा परेकी हुन् । साथीहरु घर फर्किए पनि उनी राति अबेलासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन् । ‘उनका आफन्तले युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको बेला फेला पारिएको बताएका छन्,’ इन्सपेक्टर अकौलियाले भने ।
आफूलाई बलात्कार गर्नेहरुको पहिचान युवतीले गर्न नसकेपछि प्रहरीले ६० जना भन्दा धेरै पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । त्यसमध्ये बलात्कारमा संलग्न हुनेको संख्या चारजना रहेको इन्सपेक्टर अकौलियाले बताए ।
प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य छ। उनको मेडिकल परीक्षण भइसकेको प्रहरीले जनाएको छ । ‘उनलाई माइती नेपालको जिम्मा लगाउने तयारी गरेका छौँ,’ इन्सपेक्टर अकौलियाले भने । नेपालखबरबाट ।