थानकोट चित्लाङ सडकमा क्र्यास ब्यारियर राख्न बर्तौलाको पहल
प्रतिनिधि सभामा मकवानपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले थानकोट चित्लाङ सडक मर्मत, सडक दुर्घटनाको जोखिम स्थानहरूमा क्र्यास ब्यारियर तथा तारजाली राख्नका लागि पहल गरेका छन् । बर्तौलाले सडक विभाग अन्तर्गत संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुन प्रसाद अर्याल तथा सडक डिभिजन कार्यालयका प्रमुख नारायण भण्डारीलाई निर्देशन दिएका छन् ।
नेकपा (एमाले) का सचेतक समेत रहेका बर्तौलाले आजनै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई समेत भेटी चित्लाङ सडकको स्तरीकरण तथा दुर्घटनाको जोखिम न्यूनिकरणका लागि आवश्यक व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन्।
गत शनिवार काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । यो दुर्घटना उक्त सडकको सेतो पहरा नामको स्थानबाट भएको थियो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा. महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो । कारबाट ओर्लेकी स्मारिकाकी आमा डा। सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् ।