आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ५ वटा समितिले आज बैठक बोलाएका छन् । पूर्वाधार विकास समितिले ट्रंक र डेडिकेटेड लाइनका विषयमा छलफल गर्न बिहान ११ बजे बैठक बोलाएको छ ।
नेपाल विद्युत प्राधिकरणबाट वितरित ट्रंक र डेडिकेटेड लाइनका विषयमा विवाद बढेपछि समितिले चासो बढाएको हो । महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न उद्योगहरुको लाइन काटिदिएपछि उद्योगी व्यवसायी र मजदुरले विरोध प्रदर्शन गर्दै आएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान साढे ११ बजे बस्दै छ । बैठकमा विभिन्न सरोकारवाला समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रशासनिक संघीयता सम्बन्धमा भइरहेका कामकारवाही, वर्तमान अवस्था र समस्या एवं चुनौतिका विषयमा छलफल गर्ने बताइएको छ ।
त्यस्तै, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको ९९ बुँदे सिफारिसमध्ये मन्त्रालयसँग सम्बन्धित सिफारीस कार्यान्वयन अवस्थाका विषयलाई कार्यसूचीमा राखिएको छ ।
दिगो विकास तथा सुशासन समितिले पनि आज बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सोह्रौं पञ्चवर्षीय योजनाको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।