विद्युतीय चार्जिङ स्टेसन खुल्ने क्रम बढ्दो सबैभन्दा धेरै सिन्धुलीमा

पालिका डायरी
२१ पुष २०८०, ११:१९
विद्युतीय चाजिङ स्टेसन खुल्ने क्रम बढ्दो, सिन्धुलीमा बन्यो नेपालकै धेरै स्टेसन File photo

पछिल्लो समय वातावरणमैत्री विद्युतीय सवारी साधनको संख्या बढेसँगै जिल्ला–जिल्लामा बिद्युतीय चार्जिङ स्टेसन खुल्ने क्रम बढ्दै गएको छ ।

बिद्युतीय सवारी साधनको संख्या बढेसँगै दोेलखा, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लामा धमाधम चार्जिङ स्टेसन खुलिरहेका छन् । हिमाली जिल्ला दोलखामा दुई वटा स्टेशन सञ्चालनमा रहेको छ भने अन्य दुईवटा सञ्चालनको तयारीमा रहेको नेपाल बिद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेका अनुसार हाल मकैवारी र गौरीशंकर वालगृह नजिकै दुई वटा चार्जिङ स्टेशन रहेको र सदरमुकाम चरिकोट र खरिढुंगामा छिट्टै सञ्चालनमा आउने गरी प्रक्रिया अघि बढेको छ । चार्जिङ स्टेशनका लागि आवेदन आउने क्रम जारी रहेको भन्दै प्रमुख न्यौपानेले प्रक्रिया र मापदण्ड पूरा गरी स्टेसन स्थापना गर्न आएका ग्राहकलाई प्राथमिकता दिएर प्राधिकरणले सहयोग गर्ने बताए । चार्जिङ स्टेसन राख्ने ठाउँसम्म बिद्युत लाईन विस्तार र दुई सय केभीसम्मको ट्रान्समिटर जडान प्राधिकरणले निशुल्क गर्दै आएको छ ।

सिन्धुपाल्चोकमा तीनवटा चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन् । सिन्धुपाल्चोकको चौतारामा एउटा र सुकुटेमा दुई वटा चार्जिङ स्टेशन सञ्चालनमा रहेको नेपाल बिद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रले जनाएको छ ।

यस्तै, बिपि लोकमार्ग अन्तर्गत सिन्धुली बर्दिवास सडक खण्डमा हाल करिब डेढ दर्जन चार्जिङ स्टेशन स्थापना भएका छन् । बिपी लोकमार्ग अन्तर्गत गौरीडाँडा, सिन्धुली बसपार्क, पानीट्याङ्की, मल्लागाउँ, चियाबारी, खनियाँखर्क, खुर्कोट, मूलकोट, रामटार, आँपघारी, देवीस्थान, मंगलटार सहित डेढ दर्जन स्थानमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखा वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले विपी लोकमार्ग नेपालमा सबैभन्दा बढी बिद्युतीय सवारीसाधन चार्ज गर्ने रुट बनेको बताए ।

यातायात व्यवसायीहरुले पहिले सीमित स्थानमा चार्जिङ स्टेसन हुँदा बाटोमा नै चार्ज सकिएर अलपत्र पर्ने त्रास भएपनि अब भने ढुक्कले हिँड्न पाएको बताएका छन् । डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनभन्दा बिद्युतीय सवारीसाधन वातावरणमैत्री र सञ्चालन खर्च  समेत सस्तो छ ।

प्रतिक्रिया
bharatpur_ev_charging_stations_Qy44gHryvA