अमेरिकाबाट पार्सलमा आयो लागुऔषध, लिन जाँदा ३ जना पक्राउ

पालिका डायरी
१७ पुष २०८०, २१:०९
अमेरिकाबाट पार्सलमा आयो लागुऔषध, लिन जाँदा ३ जना पक्राउ

अमेरिकाबाट पार्सल गरी आएको लागुऔषधसहित बारामा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१ टोल सिसवा वारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ, छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार र वर्ष २२ को कृष्णा सराफ रहेका छन्।

विदेशबाट लागुऔषध डिलेभरी हुँदैछ भन्ने सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध ब्यूरो वीरगन्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई कलैया उपमहानगरपालिका–१ मोतिबागस्थित जिल्ला हुलाक कार्यालयबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट लागुऔषधसहितको कार्टुन समेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

उनीहरुको साथबाट ‘पपक्रम मिक्स ट्रिओ’ लेखिएको रातो रंगको टिनको डब्बा भित्र गाँजा ३ तीन प्याकेट, ‘ओल्ड फेसन ओएट्स’ लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट र ‘क्विक ओएट्स’ लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट गरी जम्मा लागुऔषध गाँजा १ किलो १४६ ग्राम बरामद भएको प्रहरीको भनाई छ।

प्रतिक्रिया